राजेन्द्र न्यौपाने फागुन २९ गोरखा ।
फागु पूर्णिमाको अवसर पारेर नेपाल पर्यटन वर्ष २०११ लाई गोर्खाली साहित्य अनुरागीहरुले भिन्न प्रकारले मनाउने भएका छन् । चैत ४ गतेवाट शुरु हुने साहित्यिक यात्रा ६ गतेसम्म चल्ने र विभिन्न साहित्यिक तथा साँस्कृतिक कार्यक्रम गरिने लिगलिगकोट साहित्यिक यात्रा आयोजक समितिले जनाएको छ ।
शनिवार गोरखा सदरमुकाम गरिएको पत्रकार सम्मेलनमा यात्रामा तुलसी दिवस, मञ्जुल , सरुभक्त लगायत नेपालका ख्यातिप्राप्त साहित्यकार , संस्कृतकर्मी, पत्रकार तथा स्तम्भकारहरुको १०० जनाको टोली रहने जनाईएको छ । साहित्यि यात्रामा काठमाण्डौवाट ४० जनाको समुह, पोखरावाट १० जनाको समुह, हेटौडा, नारायणगढ, स्याङजा,चितवन, तनहँु र गोरखाका ख्यातिप्राप्त दजैनौ साहित्य अनुरागीको उपस्थिति रहने छ । साहित्यकारको टोलीलाई लिगलिगकोट, लगायत आसपासको ठाउँमा लगेर विभिन्न ऐतिहासिक, साँस्कृतिक, एवं पर्यटकीय अवस्थाको बारेमा जानाकारी गराई उक्त स्थानमानै सिर्जना गर्न र प्रस्तुत गर्न लगाईने कार्यक्रम रहेको छ । पहिलो दिन एकसयको संख्यामा रहेको साहित्यकारको टोलीलाई पालुङटारको स्कुलमा स्वागत अनि गजल वाचन, माल्तीगैराको भजन र स्थानीय साँस्कृतिक कार्यक्रम अवलोकन गराईने छ भने बोहोरा गाउँमा गई काव्य संध्या गरी बास बस्ने कार्यक्रम रहेको छ ।
दोश्रो दिन बिहान लिगलिगकोटमा पदयात्रा गरी लिगलिगकोट वृहत् साहित्यिक कार्यक्रम गरिने छ । केन्द्रबाट आएका र स्थानीय स्तरका साहित्य अनुरागीले लिगलिगको बारेमा साहित्य सृजना गर्ने र सोही ठाउँमा प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुती काव्यको रुपमा विस्तार गरिने पनि आयोजकले जनाएका छन् । अपरान्ह आँपपिपल हुँर्दै हर्मीकोट अवलोकन पश्चात हर्मी भञ्ज्याङमा स्थानीय कलाकारहरुद्धारा लोपोन्मुख पाङदुरे नृत्य, ठाडो भाकाको गीत लगायत वालन र भजन एवं स्थानीय संस्कृति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अन्तिम दिन हर्मीवाट खोप्लाङमा रहेको कालुपाण्डे स्मारक अवलोकन गराई गोरखा दरवार , गोरखा संग्राहलय अवलोकन गराईसकेपछि एक कार्यक्रम गरी साहित्यिक यात्रा समाप्त हुने आयोजकले पत्रकार सम्मेलनमा वताएको छ । साहित्य संजाल नेपालको सहकार्यमा लिगलिग साहित्य समाज गोरखा, साहित्य संगम गोरखाको आयोजनामा हुने सो कार्यक्रममा सवै साहित्य अनुरागीलाई सहभागी हुन आयोजकले आव्हान गरेका छन् ।