Tuesday, April 24, 2012


नेपालमा बर्सेनि तीन हजार औलो रोगी 
काठमाण्डौ वैशाख १२ । 
नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिए पनि बर्सेनि करिब तीन हजार औलो रोगी भेटिने गरेको स्वास्थ्यसेवा विभागले जनाएको छ । सन् २०१६ सम्म औलो सर्ने डरलाई कम्तीमा पनि ९० प्रतिशतले कम गर्ने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिबी ठाकुरले बताउनुभयो । ‘औलो ग्रसित क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरी रोगको शीघ्र निदान र तत्काल नेपालका तराई क्षेत्रका १३ जिल्ला औलोको जोखिममा छन्  । 

असार, साउन र भदौ महिनामा यो रोग बढी देखिने गर्छ । देशमा ३१ जिल्लामा हालसम्म करिब २२ लाख विषादीयुक्त झुल वितरण गरिसकिएको छ । नेपाल र भारतबीचको खुला सिमानाबाट आयातीत औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभाबी प्रयोग र आवश्यक कानुनको अभाव नै औलो उन्मूलनका प्रमुख चुनौती रहेको निर्देशक डा. ठाकुरले जानकारी दिनुभयो ।

 विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि विश्व औलो दिवस मनाउन थालिएको हो । भोलि मनाउन लागिएको यस वर्षको विश्व औलो रोगविरुद्वको दिवसको नारा ‘उपलब्धि जोगाउँदै जीवन रक्षा गर्न औलोमा लगानी गरौँ’ भन्ने नारा तय गरिएको छ ।

Wednesday, April 18, 2012

सुन्दरी र समाजसेवा

तनहुँ, वैशाख ६ - अनेक नाउँका ब्युटी कन्टेस्टमा सहभागी भएका अनेक सुन्दरीहरू प्रतियोगिता सकिएलगत्तै कहाँ हराउँछन्, पत्तो हुन्न । उपाधि जिते के-के न गर्छु भन्नेहरूको पनि अनुहार त्यति देख्न पाइन्न । 


गत वर्षको 'मिस मगर' का प्रतियोगीहरू एउटा राम्रो थालनी गरेका छन् । २० सुन्दरीहरू संगठित भएका छन्, आपतवपत्मा परेकाहरूलाई सघाउन । 'हाम्रो सानो प्रयासले कसैलाई राम्रो हुन सक्छ कि भनेर चैत तेस्रो साता संगठित भएका हौं,' समूहकी अध्यक्ष तथा मिस मगर २०११ की फस्ट रनर अप सुशीला थापामगरले भनिन्, 'प्रतिगोगितामा भाग लिँदा सिकेको सेवा भावबारे तालिमलाई व्यवहारमा उतार्न पनि एक जुट भएका हौं ।'
उनीहरूले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव झेलेका घाँसीकुवाका ३९ वषर्ीय कुवीर आलेमगरलाई सहयोग जुटाउन घरदैलो र सांस्कृतिक कार्यक्रम गरिसकेका छन् । ४६ हजार रुपैयाँ जुटाइसकेका छन् ।
सुशीलाले भनिन्, 'हाम्रो अभियानलाई सबैले साथ दिनुभएको छ ।' उनले वातावरण, मानव स्वास्थ्य, लागूपदार्थ दुव्र्यसनको क्षेत्रमा समेत काम गर्ने उनीहरूको योजना छ ।
'मिस मगर तनहुँ' की विजेता तथा संगठनकी कोषाध्यक्ष सारा रानामगरले विभिन्न क्लब, व्यास नगरपालिका र जिविसबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।  
राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष दुर्गा रायमाझीले समेत उनीहरूको अभियानको प्रशंसा गरे । तीन दिनअघिको कार्यक्रममा सहभागी भएका उनले भने, 'मगर सुन्दरीहरूले जस्तै समाजका सबैले एक अर्काप्रति सहयोग भाव राख्न सके कोही दुःखी हुने थिएनन् ।'
मगर भाषाका स्रष्टा यमबहादुर आलेमगरले मगर युवतीहरूको यो अभियानले नयाँ पुस्तालाई सही काममा लाग्न प्रेरित गर्ने औंल्याए । 'समाज सेवामा हामी पनि सक्रिय हुन्छौं भनेर उनीहरू भेला भए,' उनले भने, 'मिस मगरहरूको ऊर्जा र सहयोगी सोच देखेर हामीलाई समेत हौसला मिलेको छ ।' सुन्दरीहरूका हेल्पिङ ह्यान्डस्ले अरू धेरैलाई उत्साह देलान् ।

कोरियामा "लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म" बिषयक अन्तर क्रिया कार्यक्रम सम्पन्न

पुरु जोशी - नेपाल राजदूतावास तथा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया समितिको संयुक्त आयोजनामा "लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म" बिषयक अन्तर क्रिया कार्यक्रम यहि अप्रील १५ का दिन नेपाली दूतावास भवनमा भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल राजदुतावासका कार्यबाहक राजदूत राजाराम बर्तौला, सभाका प्रमुख अतिथि तथा प्रबचक जिन्गाक, बौद्ध सम्प्रदायका अध्यक्ष गुरुबर ह्ये जङ, लुम्बिनी भ्रमण वर्ष २०१२ का संयोजक गुरु नबिन बज्राचार्य, नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङबाट सभाको उद्घाटन पानसमा बत्ति बालेर भएको थियो भने उहाँहरुको स्वागत खाता ओढाएर भएको थियो । कार्यक्रमको सुरुवात विश्व शान्तिको लागि गुरु नबिन बज्राचार्यद्वारा बुद्ध धर्म अनुरुप प्राथनाबाट भएको थियो भने अन्त पनि सम्पूर्ण प्राणीहरुको सुख शान्तिका लागि प्राथनाबाट गरिएको थियो ।


सो कार्यक्रममा स्वागत भाषण लुम्बिनी भ्रमण वर्षका सल्लाहकार तथा नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङले गर्नु भएको थियो र तत्पश्चात प्रबचन कार्यक्रम रहेको थियो । सो कार्यक्रमका प्रमुख प्रबचक कोरियाको दोस्रो ठुलो बौद्ध सम्प्रदायका अध्यक्ष श्रद्धय गुरुबर ह्ये जङले यसरी प्रबचन दिनु हुँदै भन्नु भयो, "संसारमा तिन वटा कुराको बढी महत्त्व छ: प्राकृतिक सम्पदामा अग्लो हिमाल सगरमाथा, सर्बश्रेष्ठ प्राणीमा गौत्तम बुद्ध, सर्वश्रेष्ठ दर्शनमा बुद्धले दिएको शान्तिको दर्शन हो । यसकारण अग्लो हिमाल भएको नेपाल र सर्बश्रेष्ठ प्राणी बुद्ध जन्मिएको देश नेपाल भएकोले नेपालीहरुले यी दुबैलाई आफ्नो काँधमा राखेर बुद्धको शान्ति दर्शनलाई विश्व भर प्रचार गर्नुपर्ने अभिभारा रहेको छ ।" शान्तिको दर्शनलाई प्रचार प्रसार गर्न एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु पर्ने कुरा फूल र फूलका पत्रहरुको उदहारण देखाउँदै निक्कै सरल रुपमा बुझाउनु भयो ।


लुम्बिनीको बिषयमा १९८६ तथा २०१२ मा उहाँले लुम्बिनी भ्रमण गरेको प्रसङ्ग सुनाउँदै, १९८६ ताकाको लुम्बिनीको स्वरुप र अहिले २००९ मा लुम्बिनीको स्वरुपमा धेरै परिवर्तन देखेको र आफ्नो मन मस्तिस्क १९८६ कै लुम्बिनी स्वरुप ताजा रहेको बताउँदै पुरातात्वीक स्थल तथा बस्तुहरुलाई यथास्थिति मै संरक्षण गरेर राखेमा मात्र त्यसको महत्त्व हुने र समयसंगै महत्त्व बढ्ने हुँदा लुम्बिनीलाई पनि आधुनिक तरिकाले बिकाश गर्नुभन्दा पहिले कै लुम्बिनीको स्वरुप मै संरक्षण गर्नु पर्ने कुरालाई जोड दिँदै सो अनुरुप गरेमा जिन्गाक बौद्ध सम्प्रदायले नेपाल सरकार तथा जनतालाई साथ दिन सक्ने प्रतिबद्धता जाहेर गर्नु भयो।


अन्तमा जिन्गाक बौद्ध सम्प्रदायले बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा रहेको भन्ने तथ्यलाई प्रचार प्रसार गर्दै आईरहेको र आगामी दिनहरुमा अझ बढी आफ्नो तर्फबाट सक्दो प्रचार प्रसार गर्ने बताउनु भयो  । उहाँले बुद्धको जन्मभूमि इन्डिया भनेर कोरियनहरुमा भ्रम रहेको कुरा स्वीकार्दै सो भ्रमलाई हटाउन कोरियामा भएका सम्पूर्ण संस्थाहरुले संस्थागत रुपमा तथा प्रत्येक व्यक्तिहरुले पनि व्यक्तिगत रुपमा सम्बन्धित कोरियन सरकारी निकायहरुलाई पत्राचार गर्नुपर्ने र त्यसो गरेमात्र बुद्ध जन्मभूमि लुम्बिनी नेपालमा रहेको कुरा कोरियामा ब्याप्त रहेको बुद्धको जन्म स्थान सम्बन्धि रहेको भ्रम हटाउन अझ सजिलो हुने बताउनु भयो ।


सो प्रबचनका लागि नेपाल राजदूतावासका कार्यबाहक राजदूत राजाराम बर्तौलाले धन्यबाद गर्नु भयो । उहाँले लुम्बिनीको प्रचार प्रसारमा तथा नेपालको भूमि पुत्र बुद्धको उपदेशलाई कोरिया भरि प्रचार प्रसार गर्नु भएकोमा धन्यबाद पत्र दिनुभएको थियो र जिन्गाक बौद्ध सम्प्रदायबाट धन्यबाद सहित जिन्गाकको सम्झनाको चिनो दिनुभएको थियो भने लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको तर्फबाट लुम्बिनीको तस्वीर प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपालका श्रमसहचारी श्री कृष्ण हरि पुस्कर लगाएत अन्य सरकारी कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि गरि करिब ८० जना कोरियावासी नेपालीहरुको सहभागितामा रहेको थियो भने सो कार्यक्रम निर्धारित समयमा सुरु भएर निर्धारित समयमै सम्पन्न भएको थियो ।

अन्तमा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको सफलताको कामना गर्दै सम्पूर्ण उपसमितिका सदस्यहरुलाई श्रद्धय गुरु ह्ये जङले शुभकामना स्वरुप खाता ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रमको संचालन कोरियन भाषामा लुम्बिनी भ्रमण बर्ष कोरियाका उपसमितिका संयोजक गुरु नबिन बज्राचार्यज्यु तथा नेपालीमा सो उपसमितिका सदस्य राज देसारले गर्नु भएको थियो ।

क्यासिनोले तिर्न वाँकी वक्यौता एक महिना भित्र असुल उपर गर्न सरकारलाई निर्देशन

काठमाडौं, ६ वैशाख । संसदको सार्वजनिक लेखा समितिले नेपालका क्यासिनोले तिर्न वाँकी वक्यौता एक महिना भित्र असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा आज बसेको समिति बैठकले क्यासिनोले तिर्न बाँकी वक्यौताका बिषयमा अर्थ मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरसँग स्पष्टीकरण समेत लिएको छ ।

 समितिले यसअघि २०६७ पौस १३ गते दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै सोही निर्देशन अनुसार वक्यौता असुल गर्न दोहराएर निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिनु भयो ।

तत्कालिन निर्देशनपछि पनि चार वटा क्यासिनोबाट उठ्नुपर्ने चालीस करोड रुपैयाँ भन्दा बढी रकम असुल उपर नहुनुको कारण बारे अर्थमन्त्री र पर्यटनमन्त्रीसँग समितिले स्पष्टिकरण लिएको थियो । 

अर्थमन्त्री वर्षमान पुनले क्यासिनोका पूराना सञ्चालक फरार भएको र नयाँ संचालकले वक्यौता रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका कारण समय लागेको वताउनु भयो ।

होटल याक यण्ड यतिको क्यासिनो रोयलले चार करोड ६५ लाख, सोल्टीको क्यासिनो नेपालले सत्र करोड, फुलवारी होटलको फूलबारी क्यासिनोले ६ करोड र अन्नपूर्ण होटलको क्यासिनो अन्नाले ११ करोड रुपैयाँ राजश्व तिरेका छैनन् । राजश्व तिर्न वाँकी यो विवरण २०६८ मंसिर मसान्तसम्मको मात्र हो ।

वर्षमा एक परिवारलाई आठ ओटा खाना पकाउने ग्यासका सिलिण्डर अनुदान,उपभोक्ता कार्ड वितरण

काठमाडौ, ५ बैशाख । वर्षमा एक परिवारलाई आठ ओटा खाना पकाउने ग्यासका सिलिण्डर अनुदान दिने गरी आजदेखि उपभोक्ता ग्यास कार्ड वितरण गरिदैछ । 

प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कार्ड प्रदान गरेर ग्यास कार्ड वितरणको काम सुरु गरिने ग्यास उपभोक्ता महासङ्घका कार्यवाहक अध्यक्ष अर्जुनकुमार देवकोटाले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष देवकोटाका अनुसार प्रधानमन्त्रीलाई एक नम्बरको ग्यास कार्ड प्रदान गरिने छ । 

सरकारले उपभोक्ता र व्यावसायिक ग्यास कार्ड एकैपटक वितरणमा ल्याउने योजना बनाए पनि व्यावसायिक सिलिण्डर निर्माणमा ढिलाईका कारण हाल उपभोक्ता कार्डमात्र वितरण गर्न लागिएको हो । बजारमा भएको ग्याँस अभाव पूर्ति र कालोबजारी नियन्त्रण गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपभोक्ताको क्षेत्रमा क्रियाशील संघसंस्थाको सक्रियतामा ग्याँस कार्ड वितरण गर्न लागिएको हो । 

अमेरिकामा नेपाली बिद्यार्थीको मृत्यु

काठमाडौ, ४ बैशाख । नर्सिङ पढिरहेका अर्घाखाँची केरूङगा स्थायी घर भएका २५ बर्षीय भेषराज पाण्डेको आईतबार दिउसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 


नेपालीहरुको उल्लेखीय बस्ती  रहेको रिजउडस्थित आफनो अपार्टमेन्टमा आईतबार नै पाण्डेलाई अचेत अवस्थामा फेला पारेपछि  नजिकै सो अस्पतालमा पुर्याइएको थियो । मृत्युको कारण बारे हालसम्म अस्पतालले केही नजनाएपनि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उनको अपार्टमेन्टबाट प्रहरीले बिषक्त औषधी फेला पारेको थियो ।अपार्टमेन्टमा रहेका अन्य साथीहरु कामको सिलसिलामा बाहिर रहेको मौकामा पाण्डेले ढोकाको चुकुल लगाएर कोठा भित्र रहेका थिए । निकै समयपछि पनि ढोका नखुलेपछि पल्लो कोठाको एक युवकले अन्य साथीहरुलाई बोलाएर ढोका फोडदा पाण्डे अचेत अवस्था फेला परेका थिए । अस्पतालले दुई घण्टा पछि उनलाई मृत घोषित गरेको थियो ।


पाँच बर्ष अघि अध्ययनको लागि अमेरिका आएका पाण्डेले गत बर्ष न्युयोर्कको होस्टोस कलेजबाट रजिस्टर्ड नर्सको कोर्ष पुरा गरेपछि केही महिना नर्थ क्लारोलिनाको एक अस्पतालमा काम गरेका थिए । त्यहाँबाट दुई महिना अघि न्युयोर्क फर्किएका पाण्डे कामको खोजी गरिरहेको र पढाईलाई निरन्तरता दिने योजनामा थिए । 

अनौपचारिक शिक्षा खर्चमात्र धेरै, उपलब्धि शून्य

गजुरी (धादिङ), ६ वैशाख । विकट उत्तरी तिप्लिङ गाविसको तथ्याङ्क हेर्ने हो भने त्यहाँ अहिले कोही पनि निरक्षर छैनन् । 

सबैलाई साक्षर बनाउने अभियान नै सञ्चालन गरेर सबै साक्षर भएको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयमा रहेको अनौपचारिक शिक्षा डेस्कमा उपलब्ध छ । तिप्लिङ गाविसलाई व्यावहारिक रूपमा हेर्ने हो भनेचाहिँ धेरै मानिसले आफ्नो नाम पनि लेख्न सक्दैनन् भन्दा कार्यालयमा बस्ने पत्याउँदैनन् तर यो सत्य हो । गाविसका अधिकांश मानिसले आफ्नो नाम समेत लेख्न नसकेको प्रमाण जिविसको कार्यालयमा देख्न सकिन्छ । तिप्लिङबाट जिविसमा माग भएका योजनामा ल्याप्चे लगाइएको प्रशस्त निवेदन छन् । 

उत्तरको तिप्लिङमात्र होइन दक्षिणको महादेवस्थान गाविस पनि तथ्याङ्कमा साक्षर भएको तर व्यवहारमा ल्याप्चे बढी भएको गाविसमा पर्छ । सरकारले खर्च गरेको करोडौँ रकम सकिइसक्यो । तथ्याङ्कमा साक्षर भएको देखिन्छ तर व्यवहारमा हेर्न जाने हो भने धेरैजसो मानिस ल्याप्चे छन् । तिप्लिङ गाविसमा तामाङ समुदायको बसोबास छ भने महादेवस्थान गाविसमा चेपाङलगायतका जनजाति र ब्राह्मणक्षेत्रीको बसोवास छ । उनीहरू शिक्षा, स्वास्थ्यबाट वञ्चित हुँदै आएका छन् । 

साक्षरता अभियानअन्तर्गत १९ गाविसमा अहिले अनौपचारिक शिक्षाअन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ५० गाविसमा साक्षर गराउनुपर्ने ८३ हजार १७८ मध्ये पाँच हजार २३९ जना गत वर्ष साक्षर भएको पनि सुवेदीले जानकारी दिँदै जिल्लामा अनौपचारिक शिक्षालाई प्राथमिकता दिन नसकिएको बताउनुभयो । जिल्लामा अनौपचारिक शिक्षाका लागि रु तीन करोड खर्च भइसकेको छ तर उपलब्धि न्यून भएकाले सरोकारवालालाई नयाँ नीति बनाएर लागु गर्न अनुरोध गरिएको छ । 

राजनीतिक भागबन्डा नमिलेका कारण गत वर्ष जिल्लाको चैनपुर र नलाङ गाविसमा अनौपचारिक शिक्षाका निरीक्षक नियुक्त गर्न नसकेर काम भएको थिएन । अनौपचारिक शिक्षा केन्द्रले मङ्गलबार धादिङबेँसीमा आयोजना गरेको कार्यक्रममा केन्द्रका निर्देशक बाबुराम पौडेलले अनौपचारिक शिक्षाको कार्यक्रम उपलब्धिमूलक हुन नसकेको बताउनुभयो । कार्यक्रममा उपनिर्देशक केशवप्रसाद दाहालले ३१ लाख साक्षर भएको तथ्याङ्क रहेको बताउँदै यसका लागि रु तीन अर्ब ४६ करोड खर्च भएकाले आशा गरेअनुरूप प्रगति नभएको समीक्षा गर्नुभयो । 

सरकारले चलाएको अनौपचारिक शिक्षा कार्यक्रमको मोडेल हरेक वर्ष फेरिने र जागिर खानका लागि चलाइएको जस्तो भएकाले आगामी वर्षदेखि अनौपचारिक शिक्षासँगै सीपको कक्षा एकैपटक चलाउन जिल्लामा क्रियाशील सरोकारवालाले अनौपचारिक शिक्षा केन्द्रसँग माग गरेका छन् ।