Wednesday, April 18, 2012

अनौपचारिक शिक्षा खर्चमात्र धेरै, उपलब्धि शून्य

गजुरी (धादिङ), ६ वैशाख । विकट उत्तरी तिप्लिङ गाविसको तथ्याङ्क हेर्ने हो भने त्यहाँ अहिले कोही पनि निरक्षर छैनन् । 

सबैलाई साक्षर बनाउने अभियान नै सञ्चालन गरेर सबै साक्षर भएको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयमा रहेको अनौपचारिक शिक्षा डेस्कमा उपलब्ध छ । तिप्लिङ गाविसलाई व्यावहारिक रूपमा हेर्ने हो भनेचाहिँ धेरै मानिसले आफ्नो नाम पनि लेख्न सक्दैनन् भन्दा कार्यालयमा बस्ने पत्याउँदैनन् तर यो सत्य हो । गाविसका अधिकांश मानिसले आफ्नो नाम समेत लेख्न नसकेको प्रमाण जिविसको कार्यालयमा देख्न सकिन्छ । तिप्लिङबाट जिविसमा माग भएका योजनामा ल्याप्चे लगाइएको प्रशस्त निवेदन छन् । 

उत्तरको तिप्लिङमात्र होइन दक्षिणको महादेवस्थान गाविस पनि तथ्याङ्कमा साक्षर भएको तर व्यवहारमा ल्याप्चे बढी भएको गाविसमा पर्छ । सरकारले खर्च गरेको करोडौँ रकम सकिइसक्यो । तथ्याङ्कमा साक्षर भएको देखिन्छ तर व्यवहारमा हेर्न जाने हो भने धेरैजसो मानिस ल्याप्चे छन् । तिप्लिङ गाविसमा तामाङ समुदायको बसोबास छ भने महादेवस्थान गाविसमा चेपाङलगायतका जनजाति र ब्राह्मणक्षेत्रीको बसोवास छ । उनीहरू शिक्षा, स्वास्थ्यबाट वञ्चित हुँदै आएका छन् । 

साक्षरता अभियानअन्तर्गत १९ गाविसमा अहिले अनौपचारिक शिक्षाअन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ५० गाविसमा साक्षर गराउनुपर्ने ८३ हजार १७८ मध्ये पाँच हजार २३९ जना गत वर्ष साक्षर भएको पनि सुवेदीले जानकारी दिँदै जिल्लामा अनौपचारिक शिक्षालाई प्राथमिकता दिन नसकिएको बताउनुभयो । जिल्लामा अनौपचारिक शिक्षाका लागि रु तीन करोड खर्च भइसकेको छ तर उपलब्धि न्यून भएकाले सरोकारवालालाई नयाँ नीति बनाएर लागु गर्न अनुरोध गरिएको छ । 

राजनीतिक भागबन्डा नमिलेका कारण गत वर्ष जिल्लाको चैनपुर र नलाङ गाविसमा अनौपचारिक शिक्षाका निरीक्षक नियुक्त गर्न नसकेर काम भएको थिएन । अनौपचारिक शिक्षा केन्द्रले मङ्गलबार धादिङबेँसीमा आयोजना गरेको कार्यक्रममा केन्द्रका निर्देशक बाबुराम पौडेलले अनौपचारिक शिक्षाको कार्यक्रम उपलब्धिमूलक हुन नसकेको बताउनुभयो । कार्यक्रममा उपनिर्देशक केशवप्रसाद दाहालले ३१ लाख साक्षर भएको तथ्याङ्क रहेको बताउँदै यसका लागि रु तीन अर्ब ४६ करोड खर्च भएकाले आशा गरेअनुरूप प्रगति नभएको समीक्षा गर्नुभयो । 

सरकारले चलाएको अनौपचारिक शिक्षा कार्यक्रमको मोडेल हरेक वर्ष फेरिने र जागिर खानका लागि चलाइएको जस्तो भएकाले आगामी वर्षदेखि अनौपचारिक शिक्षासँगै सीपको कक्षा एकैपटक चलाउन जिल्लामा क्रियाशील सरोकारवालाले अनौपचारिक शिक्षा केन्द्रसँग माग गरेका छन् । 

No comments:

Post a Comment