Wednesday, April 18, 2012

सुन्दरी र समाजसेवा

तनहुँ, वैशाख ६ - अनेक नाउँका ब्युटी कन्टेस्टमा सहभागी भएका अनेक सुन्दरीहरू प्रतियोगिता सकिएलगत्तै कहाँ हराउँछन्, पत्तो हुन्न । उपाधि जिते के-के न गर्छु भन्नेहरूको पनि अनुहार त्यति देख्न पाइन्न । 


गत वर्षको 'मिस मगर' का प्रतियोगीहरू एउटा राम्रो थालनी गरेका छन् । २० सुन्दरीहरू संगठित भएका छन्, आपतवपत्मा परेकाहरूलाई सघाउन । 'हाम्रो सानो प्रयासले कसैलाई राम्रो हुन सक्छ कि भनेर चैत तेस्रो साता संगठित भएका हौं,' समूहकी अध्यक्ष तथा मिस मगर २०११ की फस्ट रनर अप सुशीला थापामगरले भनिन्, 'प्रतिगोगितामा भाग लिँदा सिकेको सेवा भावबारे तालिमलाई व्यवहारमा उतार्न पनि एक जुट भएका हौं ।'
उनीहरूले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव झेलेका घाँसीकुवाका ३९ वषर्ीय कुवीर आलेमगरलाई सहयोग जुटाउन घरदैलो र सांस्कृतिक कार्यक्रम गरिसकेका छन् । ४६ हजार रुपैयाँ जुटाइसकेका छन् ।
सुशीलाले भनिन्, 'हाम्रो अभियानलाई सबैले साथ दिनुभएको छ ।' उनले वातावरण, मानव स्वास्थ्य, लागूपदार्थ दुव्र्यसनको क्षेत्रमा समेत काम गर्ने उनीहरूको योजना छ ।
'मिस मगर तनहुँ' की विजेता तथा संगठनकी कोषाध्यक्ष सारा रानामगरले विभिन्न क्लब, व्यास नगरपालिका र जिविसबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।  
राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष दुर्गा रायमाझीले समेत उनीहरूको अभियानको प्रशंसा गरे । तीन दिनअघिको कार्यक्रममा सहभागी भएका उनले भने, 'मगर सुन्दरीहरूले जस्तै समाजका सबैले एक अर्काप्रति सहयोग भाव राख्न सके कोही दुःखी हुने थिएनन् ।'
मगर भाषाका स्रष्टा यमबहादुर आलेमगरले मगर युवतीहरूको यो अभियानले नयाँ पुस्तालाई सही काममा लाग्न प्रेरित गर्ने औंल्याए । 'समाज सेवामा हामी पनि सक्रिय हुन्छौं भनेर उनीहरू भेला भए,' उनले भने, 'मिस मगरहरूको ऊर्जा र सहयोगी सोच देखेर हामीलाई समेत हौसला मिलेको छ ।' सुन्दरीहरूका हेल्पिङ ह्यान्डस्ले अरू धेरैलाई उत्साह देलान् ।

No comments:

Post a Comment