Wednesday, April 18, 2012

कोरियामा "लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म" बिषयक अन्तर क्रिया कार्यक्रम सम्पन्न

पुरु जोशी - नेपाल राजदूतावास तथा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया समितिको संयुक्त आयोजनामा "लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म" बिषयक अन्तर क्रिया कार्यक्रम यहि अप्रील १५ का दिन नेपाली दूतावास भवनमा भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल राजदुतावासका कार्यबाहक राजदूत राजाराम बर्तौला, सभाका प्रमुख अतिथि तथा प्रबचक जिन्गाक, बौद्ध सम्प्रदायका अध्यक्ष गुरुबर ह्ये जङ, लुम्बिनी भ्रमण वर्ष २०१२ का संयोजक गुरु नबिन बज्राचार्य, नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङबाट सभाको उद्घाटन पानसमा बत्ति बालेर भएको थियो भने उहाँहरुको स्वागत खाता ओढाएर भएको थियो । कार्यक्रमको सुरुवात विश्व शान्तिको लागि गुरु नबिन बज्राचार्यद्वारा बुद्ध धर्म अनुरुप प्राथनाबाट भएको थियो भने अन्त पनि सम्पूर्ण प्राणीहरुको सुख शान्तिका लागि प्राथनाबाट गरिएको थियो ।


सो कार्यक्रममा स्वागत भाषण लुम्बिनी भ्रमण वर्षका सल्लाहकार तथा नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङले गर्नु भएको थियो र तत्पश्चात प्रबचन कार्यक्रम रहेको थियो । सो कार्यक्रमका प्रमुख प्रबचक कोरियाको दोस्रो ठुलो बौद्ध सम्प्रदायका अध्यक्ष श्रद्धय गुरुबर ह्ये जङले यसरी प्रबचन दिनु हुँदै भन्नु भयो, "संसारमा तिन वटा कुराको बढी महत्त्व छ: प्राकृतिक सम्पदामा अग्लो हिमाल सगरमाथा, सर्बश्रेष्ठ प्राणीमा गौत्तम बुद्ध, सर्वश्रेष्ठ दर्शनमा बुद्धले दिएको शान्तिको दर्शन हो । यसकारण अग्लो हिमाल भएको नेपाल र सर्बश्रेष्ठ प्राणी बुद्ध जन्मिएको देश नेपाल भएकोले नेपालीहरुले यी दुबैलाई आफ्नो काँधमा राखेर बुद्धको शान्ति दर्शनलाई विश्व भर प्रचार गर्नुपर्ने अभिभारा रहेको छ ।" शान्तिको दर्शनलाई प्रचार प्रसार गर्न एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु पर्ने कुरा फूल र फूलका पत्रहरुको उदहारण देखाउँदै निक्कै सरल रुपमा बुझाउनु भयो ।


लुम्बिनीको बिषयमा १९८६ तथा २०१२ मा उहाँले लुम्बिनी भ्रमण गरेको प्रसङ्ग सुनाउँदै, १९८६ ताकाको लुम्बिनीको स्वरुप र अहिले २००९ मा लुम्बिनीको स्वरुपमा धेरै परिवर्तन देखेको र आफ्नो मन मस्तिस्क १९८६ कै लुम्बिनी स्वरुप ताजा रहेको बताउँदै पुरातात्वीक स्थल तथा बस्तुहरुलाई यथास्थिति मै संरक्षण गरेर राखेमा मात्र त्यसको महत्त्व हुने र समयसंगै महत्त्व बढ्ने हुँदा लुम्बिनीलाई पनि आधुनिक तरिकाले बिकाश गर्नुभन्दा पहिले कै लुम्बिनीको स्वरुप मै संरक्षण गर्नु पर्ने कुरालाई जोड दिँदै सो अनुरुप गरेमा जिन्गाक बौद्ध सम्प्रदायले नेपाल सरकार तथा जनतालाई साथ दिन सक्ने प्रतिबद्धता जाहेर गर्नु भयो।


अन्तमा जिन्गाक बौद्ध सम्प्रदायले बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा रहेको भन्ने तथ्यलाई प्रचार प्रसार गर्दै आईरहेको र आगामी दिनहरुमा अझ बढी आफ्नो तर्फबाट सक्दो प्रचार प्रसार गर्ने बताउनु भयो  । उहाँले बुद्धको जन्मभूमि इन्डिया भनेर कोरियनहरुमा भ्रम रहेको कुरा स्वीकार्दै सो भ्रमलाई हटाउन कोरियामा भएका सम्पूर्ण संस्थाहरुले संस्थागत रुपमा तथा प्रत्येक व्यक्तिहरुले पनि व्यक्तिगत रुपमा सम्बन्धित कोरियन सरकारी निकायहरुलाई पत्राचार गर्नुपर्ने र त्यसो गरेमात्र बुद्ध जन्मभूमि लुम्बिनी नेपालमा रहेको कुरा कोरियामा ब्याप्त रहेको बुद्धको जन्म स्थान सम्बन्धि रहेको भ्रम हटाउन अझ सजिलो हुने बताउनु भयो ।


सो प्रबचनका लागि नेपाल राजदूतावासका कार्यबाहक राजदूत राजाराम बर्तौलाले धन्यबाद गर्नु भयो । उहाँले लुम्बिनीको प्रचार प्रसारमा तथा नेपालको भूमि पुत्र बुद्धको उपदेशलाई कोरिया भरि प्रचार प्रसार गर्नु भएकोमा धन्यबाद पत्र दिनुभएको थियो र जिन्गाक बौद्ध सम्प्रदायबाट धन्यबाद सहित जिन्गाकको सम्झनाको चिनो दिनुभएको थियो भने लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको तर्फबाट लुम्बिनीको तस्वीर प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपालका श्रमसहचारी श्री कृष्ण हरि पुस्कर लगाएत अन्य सरकारी कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि गरि करिब ८० जना कोरियावासी नेपालीहरुको सहभागितामा रहेको थियो भने सो कार्यक्रम निर्धारित समयमा सुरु भएर निर्धारित समयमै सम्पन्न भएको थियो ।

अन्तमा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको सफलताको कामना गर्दै सम्पूर्ण उपसमितिका सदस्यहरुलाई श्रद्धय गुरु ह्ये जङले शुभकामना स्वरुप खाता ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रमको संचालन कोरियन भाषामा लुम्बिनी भ्रमण बर्ष कोरियाका उपसमितिका संयोजक गुरु नबिन बज्राचार्यज्यु तथा नेपालीमा सो उपसमितिका सदस्य राज देसारले गर्नु भएको थियो ।

No comments:

Post a Comment