Monday, March 21, 2011

भित्रेपात्रोहरुमा गणितीय त्रुटि

कूल तामाङ् 
 चैत ७ काठमाडौं । कवि एवम् ज्योतिर्विद् रत्ननिधि शुक्राचार्यले नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत सम्पूर्ण पञ्चाङ्ग र सोका आधारमा प्रकाशित भित्रेपात्रोहरुमा “गणितीय त्रुटि भएकाले” रद्द गरी पाऊँ भनी यही चैत ४ गते सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्रीसमक्ष निवेदन दिनुभएको छ ।

ज्योतिर्विद् शुक्राचार्यले निवेदनमा असार र साउन लगातार ३२/३२ दिनका तथा मङ्सिर र माघ २९/२९दिनका बनाएर समितिले गणितीय नियमको ठाडो उल्लङ्घन गरेको दाबी गर्नुभएको छ ।
मुहूर्त चिन्तामणि नामक ग्रन्थको सङ्क्रान्ति प्रकरणको ५ र ६ श्लोकले गरेको व्यवस्थानुसार वर्षमा एक महिनामात्र ३२ दिनको र अर्काे एक महिनामात्र २९ दिनसम्मका हुन्छन् –शुक्राचार्य बताउनुहुन्छ ।

भारतका कासी तथा कलकत्ताबाट प्रकाशन हुने पात्राहरुमा २०६८ भदौ १ गते बुधबार बिहान १०।२९बजे भाद्र सङ्क्रान्ति रहेकामा नेपाली पात्राहरुमा भने भोलिपल्ट अर्थात् बिहीबार बिहान २/१९ बजेमात्र भाद्र सङ्क्रान्ति बनाइएकाले भारतभन्दा नेपाल १५ घण्टा ५० मिनेटपछि देखाइएको त्रुटिप्रति ज्योतिर्विद् शुक्राचार्यले मन्त्रालयको ध्यानाकर्षण गर्नुभएको  छ ।

राजस्व खाएर समितिका केही पदाधिकारीले पात्रो निकाल्ने र आफ्नो गणित लाद्ने काम गरेको भन्दै तिनमाथि  कारवाहीको माग पनि उहाँले गर्नुभएको छ । पञ्चाङ्गको यो त्रुटिबाट चाडपर्व, रीतिथिति, सरकारी बिदा, दसंै तिहारजस्ता संस्कृति प्रभावित भई धर्मकर्म र परम्परामा समेत असर पर्ने भएकाले उनीहरुमाथि कारवाही हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

शुक्राचार्यका अनुसार बढीमा ६३ दिन ८ घण्टाको दुई महिना हुनुपर्नेमा असार र साउन ३२।३२ दिन गरी ६४ दिनभन्दा बढीका गरी  दुई महिना बनाइएको हुँदा यो खगोलीय मान्यताको उल्लङ्घन हो ।

No comments:

Post a Comment