चन्द्रश्वर बस्ताकोटी
चैत ४ मुस्ताङ। हिमाली क्षेत्र मुस्ताङमा थकाली समुदायको सबैभन्दा ठूलो पर्व ‘तोरन्ल’को चलहपहल सुरू भएको छ ।तल्लो मुस्ताङको जोमसोम, लते, कोबाङ, मार्फा र टुकुचे गाविसमा तोरल्लको चहलपहल सुरु भएको हो ।
वरपरको बाताबरण सरसफाइ, घरको सिङ्गार पटार र रङ्गरोगनमा जुटेका स्थानीयवासीहरू फागु पुर्णिमाको अधिल्लो दिन शुक्रबार बिहान एक, दुई बजे देखि शुद्ध भै प्रकृतिमाता, देबिदेबताका साथै मृत पुर्वजहरुको सम्झनामा धुप र नौनि ध्युको बत्ती बालेर बिषेश प्रार्थनाका गर्दै आशिर्वाद मागेका छन । उक्त अबसरमा काली गण्डकी नदिको पबित्र जल शुद्ध हुदै छे छे गर्दै बिभिन्न प्रकारका खाना र परिकार मृत पुर्वजहरुको सम्झनामा चढाउदछन । जसलाई स्थानीयवासीहरू खिमि चुङची भन्ने गर्दछन ।
थकाली समुदायको मुख्य चाड तोरन्लमा फागुपुर्णिमाका दिनबाट सात दिन सम्म आफन्तहरुलाई घरमा बोलाई मिठा मिठा परिकारले स्वागत गरिन्छ । फलफुल, सेल रोटी, मासु, जाडँ लगायतको अनेक थरि परिकार बनाइन्छ । देशका विभिन्न स्थान र विदेश गएका मुस्ताङबासी थकालीहरू पर्व मनाउनका लागि थकालीहरूको मुख्य थलो फर्कन थालेका छन् ।
आशा र शान्तीको कामना गर्दै मुख्यतया सात दिनसम्म हर्षोउल्लासपुर्वक मनाइने पर्वमा तारा खेलको बिषेश महत्ब रहने गर्दछ । स्याङ तथा ठिनीका बासिन्दाले तुङल्याहा पनि भन्ने गरेको पर्ब एक आपसमा खुसी साटासाट गरि गाउँ अनुसार सात देखि बिस दिन सम्म मनाउने चलन छ । ५ गाउले थकालीहरु भने भोली देखी यो चाड मनाउन शुरु गर्दछन ।
पर्वमा नाच गान गर्दै पुरुषहरु तारो हान्ने खेल र महिलाहरु नाका भोटे, गोटा खेल खेल्ने गर्दछन । कतैकतै रमाइलोका लागि कौडा, जुवा समेत खेलिन्छ । तारा खेलका पारखीहरु तारो खेलखेल्ने धोको पुरागर्न तोरन्लको अबसर पारेर तारा खेल खेल्न तल्लिन रहेको जोमसोमका दिनेश थकाली बताउछन । सबै जातिजाति, भाषा धर्मलाई सरकारले समान दृष्टिकोणले हेर्नुपर्ने बताउदै कम जनसंख्या रहेका जातजातीको पुर्खौली इतिहास जोगाउन राज्यले चासो देखाउनुपर्ने थकाली बताउनु हुन्छ ।
पुरुषहरु लबेदा, सुरवाल, इस्टकोट, कोट, ढाका टोपी र महिलाहरु नोकोन चोलो, ढाका टुटुम लगायत कण्ढी, फ्रम, हम्मेल, नमेङक्यु, मरमेन्दो जस्ता गरगहनाले सजिने गर्दछन । तारा खेल र नाका भोटे खेल खेल्नु पुर्व महिला पुरुष दुबै
च्ह्योङची तोरन्ल स्हेम्ब च्ह्योङची तोरन्ल ।
चुङी ल मा सोम्म्रा प्ह्रीप च्ह्योङची तोरन्ल ।
जस्ता गित गाउने गर्दछन । जसको नेपाली भावार्थ “आगमन भयो हाम्रो प्रमुख चाड पर्व तोरन्ल हाम्रो घर आगनमा । बाह्र महिनाको महत्व सात दिन, चाड हाम्रो सामुन्ने आइपुग्यो ।” रहेको छ । मुस्ताङको कोवाङ गाविसलाई उद्गम स्थल मान्ने मानिने थकालीहरु करिब ४४ हजारको संख्यामा रहेका बताइन्छ ५ गाउले थकालीहरु समेत करिब सोही सख्यामा हुन सक्ने अनुमान छ।
No comments:
Post a Comment