Thursday, March 10, 2011

लमजुङमा पहिलोपटक सामुदायिक विद्यालयबाट अंग्रेजी माध्यममा एसएलसी

नवीनराज कुइँकेल
फागुन २६  लमजुङ (बेसीसहर)  । छोरा छोरीलाई बोर्डिङ स्कूलमा पढाए मात्रै शिक्षा दिक्षा राम्रो हुन्छ भन्ने अधिकांश अभिभावकको मान्यता रहँदै आएको छ । अभिभावकको मात्र होइन, स्वयं सरकारी विद्यालयका शिक्षकहरु समेत आफ्ना छोरा छोरीहरुलाई आफूले पढाउने विद्यालयमा नपढाएर बोर्डिङ स्कूलहरुमा पढाउने गरेको हामीले देख्दै सुन्दै आएका छौं ।
सरकारी विद्यालयमा पढाइको गुणस्तर हुँदैन खत्तमै हुन्छ भनेर आफ्ना छोरा छोरी बोर्डिङमा लैजानेहरुलाई चुनौति दिँदै ५ बर्ष अघिदेखि विद्याज्योति मावि तार्कु खहरेले सञ्चालन गरेका गुणस्तरीय शिक्षाको अभियानले अहिले सार्थकता पाउन लागेको छ ।

२०६२ सालमा अंग्रेजीमाध्यममा पठन पाठन शुरु गरेको सो विद्यालयले अहिले लमजुङमै पहिलो पटक अंग्रेजी माध्याममा परीक्षा दिने विद्यार्थी उत्पादन गर्ने पहिलो सामुदायिक विद्यालय बन्न सफल भएको छ । अहिले सो विद्यालयका २३ जना विद्यार्थीहरु बोर्डिङका विद्यार्थी सरह अंग्रेजी माध्यममा एस एल सी दिन तयार भएर बसेका विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर केसीले बताउनुभयो ।
विद्यालयमा शिक्षकहरु नियुक्ति गर्दा पनि अंग्रेजी माध्यममा पढाउन सक्ने हेरे नियुक्ति गरिएको प्रधानाध्यापक केसीले बताउनुभयो । अहिले श्ैक्षिक गुणस्तर देखेर अभिभावकहरुको आकर्षण विद्यालयमा बढेको उहाँले जानकारी दिनुभयो ।

विद्यालयले अहिले नेपाली र अर्थशास्त्र बाहेक अन्य सबै विषयलाई अंग्रेजी माध्यममा पढाउन थालेको छ । नेपाल सरकारबाट स्वीकृत प्राप्त पाठ्यक्रमलाई समावेश गरेर पठन पाठन गर्ने गरिएको छ । विद्यार्थीहरुलाई वालमैत्री तरिकाले पठन पाठन गराउँदा शैक्षिक गुणस्तरमा बृद्धि भएको प्रधानाध्यापक केसीको अनुभव छ । शुरुमा ५ कक्षासम्मका लागि शुरु गरिएको अंग्रेजी माध्यमको
पढाइबाट राम्रो प्रतिफल निस्केपछि १० कक्षासम्म नै अंग्रेजी माध्यम विस्तार गरिएको हो ।
विद्यालयमा पठन पाठन राम्रो भएपछि विद्यार्थी भर्ना दर पनि बढेको छ । गत बर्ष १ सय २० जना नयाँ विद्यार्थी भर्ना भएकामा ८० जना त बोर्डिङबाट आएको केसीले जानकारी दिनुभयो ।
अंग्रेजी माध्यममा पढाइ भए पनि शुल्क भने अत्यन्त न्यून छ । विद्यालयले बोडिङ स्कूले झै बर्षेनी विद्यार्थी भर्ना गर्नुपर्ने नियम पनि लगाएको छैन । सो शुल्क पनि अभिभावकको सल्लाह अनुसार तोकिएको छ ।

अंग्रेजी माध्यममा पढाइ सुरु गर्दा के कसो हुने हो भन्ने दुविधा थियो विद्यालय प्रशासनलाई । तर अब अहिलेसम्म आइपुग्दा आशाका किरणहरु देखा परेको विद्यालयले जनाएको छ । हुने खाने र धनीमानिका छोराछोरीहरु बोडिङ स्कूलमा पढ्ने र हुँदा मात्र खाने गरीबका छोराछोरीहरु सरकारी विद्यालयमा पढ्दा वर्ग विभेद बढेको र समान शिक्षा हुनु पर्ने भन्दै विभिन्न विद्यार्थी संगठनले बेला बेलामा आन्दोलन पनि गनेर्गरेका छन् । बोर्डिङ स्कूल बन्द गर्न कुनै समय निकै आवाज पनि उठ्ने गरेकोथियो ।

तर सरकारी विद्यालयहरुलाई पनि बोर्डिङ स्कूल जस्तै बनाउनु पर्छ भन्ने आवाज भने कहिँ कतैबाट उठेको सुनिएन । यस्तैमा सिमित स्रोत र साधनले सञ्चालन भएको लमजुङको विद्याज्योति माविका शिक्षक र अभिभावकले भने एउटा नमूना प्रयास शुरु गरे र यो प्रयासले सार्थकता पनि पाउन लागेको छ । अंग्रेजी माध्यममा पढेका विद्यार्थी सबैले जिल्लास्तरीय योग्यता परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । यसबाट विद्यालयका शिक्षक अभिभावकको हौसला अरु बढेको छ । सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यममा पढाइ भएपछि निम्न वर्गका अभिभावकलाई राहत
भएको छ ।
राम्रो पढाइका लागि बोर्डिङमै लैजानु पर्छ, धेरै फिस तिर्नुपर्छ भन्ने छैन, सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाएर शिक्षामा गुणस्तरीयता थप्न सकिँदो रहेछ भन्ने उदाहरण विद्याज्योति माविले प्रस्तुत गरेको छ । अरु सामुदायिक विद्यालयले पनि विद्याज्योति माविको सिको गर्न सके गुणस्तरीय शिक्षाका लागि शहरकै बोडिङमा पढाउनुपर्छ, महंगो फिस तिर्नै पर्छ भन्ने मान्यता पनि
गलत सावित हुने थियो र सरकारी तथा सामुदायिक विद्यालयहरु पनि बोर्डिङ भन्दा कम छैनन् भन्ने पर्ने थियो कि ?

No comments:

Post a Comment