फागुन ४ लण्डन । गुरुङ समाज प्लमस्टिडले सडक दुर्घट्नामा परि घाइते भएका कृष्ण गुरुङको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
तमुधी प्लमस्टिडका अध्यक्ष रि. क्याप्टेन नारायण गुरुङले एक कार्यक्रमबीच संकलित २ हजार एकसय ५ पाउण्ड गुरुङ परिवारलाई हस्तान्तरण गरेका हुन् । सो रकम संकलन गर्न नेपाली टेलिभिजनका प्रमुख मोहन गुरुङ तथा गुरुङ समाज प्लमस्टिडका अगुवाहरुले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
गत साल डिपेण्डेन्ट भिषामा बेलायत आएका गुरुङ साउथ इष्ट लण्डन स्थित चाल्र्टनमा भएको दुर्घट्नामा घाइते भएका थिए । गत डिसेम्बर १ मा साइकलमा यात्रारत उनलाई कारले ठक्कर दिंदा उनी अचेत अवस्थामा थिए । घाइते गुरुङको बेलायतस्थित हृवाइट च्यापल अस्पतालमा उपचार भइरहेको छ । उनी अझै अचेत छन् ।
बारपाक गोर्खाका गुरुङका आमा शुकमाया गुरुङ तथा बुबा मंगल बहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो । श्याम शेरचनले गुरुङ परिवारलाई कानुनी प्रकृया तथा बीमा लगायतका विषयमा भइरहेका गतिविधि बारे जानकारी गराएका थिए । सो अवसरमा ५ सदस्यीय कृष्ण गुरुङ सहयोगार्थ चन्दा संकलन समिति समेत गठन गरिएको छ जसमा हरि गुरुङ, खड्ग गुरुङ, योगेश गुरुङ, गंगाराम गुरुङ तथा हिरा गुरुङ छन् । घाइते गुरुङका परिवारलाई समिति मार्फत सहयोग गर्न प्लमस्टिड गुरुङ समाजले अनुरोध समेत गरेको छ ।
प्लमस्टेड गुरुङ समाजको संयोजकत्वमा भएको रकम संकलन कार्यक्रमलाई डांडा गाउंले समाज तथा शिख कम्युनिटीका शुकविन्दर सिंहले समेत सहयोग गरेका थिए । यसअघि अस्वस्थ गुरुङको परिवारलाई एन आर एन युकेले पनि आर्थिक सहयोग गरेको थियो ।
No comments:
Post a Comment