Wednesday, April 18, 2012

अन्तर्जातीय विवाह गर्ने जोडी पुनःस्थापित -Inter-Cast marriage

दाङ, ६ वैशाख । अन्तर्जातीय विवाह गरेकै कारण विस्थापित गङ्गापरस्पुर गाविस–६ ठुलीचौर दाङ निवासी २६ वर्षीय नरबहादुर बुढा र २१ वर्षीया सिर्जना विकलाई मङ्गलबार सोही गाउँमा पुनःस्थापना गरिएको छ ।

मङ्गलबार ठूलीचौर पुगेको मानवअधिकारकर्मी, दलित अधिकारकर्मी, सरोकारवाला र पत्रकारको टोलीले इलाका प्रहरी कार्यालय गढवाको सहयोगमा उहाँहरूलाई पुनःस्थापना गरेको हो । गाउँका भद्रभलाद्मीसँग टोलीले छलफल गरी गाउँलेकै रोहबरमा नरबहादुर र सिर्जनालाई पुनःस्थापना गराएको हो । तीन वर्ष पहिले पे्रमविवाह गरेका एकै गाउँका नरबहादुर र सिर्जना घरपरिवारले स्वीकार नगरेपछि भारत र माइतमा बस्दै आउनुभएको थियो । 

केही दिनअगाडि भारतबाट फर्किएका नरबहादुर र सिर्जनालाई गङ्गापरस्पुर गाविसका सामाजिक परिचालकको सहयोगमा घरमा भित्र्याइएको थियो तर घरमा भित्र्याएको भोलिपल्ट नै नरबहादुरका दिदी शान्ति बुढा, ठूलीआमा नन्दकली डिसी, उनका छोरा ज्ञानेन्द्र छोरी खिमाले ‘कामीको छोरी बिहे गरेकालाई पनि किन भित्र पसालेको’ भन्दै लछारपछार गरी घरनिकाला गरेपछि गाउँमा समेत बस्न नसक्ने स्थिति भएको भन्दै नरबहादुर र सिर्जना न्याय माग्दै जिल्ला सदरमुकाम घोराही आउनुभएको थियो । कथित तल्लो जातको नाममा अन्तर्जातीय विवाह गरेकै कारण आफूहरूले विभेद गरेर गल्ती गरेको भन्दै ज्ञानेन्द्र र खिमाले माफी मागेका छन् ।

मङ्गलबार त्यहाँ पुगेका हरप्लेस दाङका संयोजक विनोद केसी, दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) का केन्द्रीय उपाध्यक्ष निर्मला गुप्ता, उत्पीडित जातीय मुक्ति समाज दाङका अध्यक्ष मानबहादुर विश्वकर्मा, दलित महिला एकता केन्द्रका कल्पना नेपाली, दलित पत्रकार सङ्घ दाङका अध्यक्ष जनक नेपाली तथा पत्रकार समक्ष उनीहरूले माफी मागेका हुन् ।रासस

No comments:

Post a Comment