Tuesday, March 22, 2011

टाइगर टप्स् गोलीकाण्डको अर्को पेसी वैशाख १४ मा

चैत ८ चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स् गोलीकाण्डबारे चलिरहेको मुद्दाको अर्को पेसी जिल्ला प्रशासन कार्यालय चितवनले २०६८ साल वैशाख १४ गतेका लागि तोकेको छ ।

गोलीकाण्डमा उल्झेका बङ्गलादेशी नागरिक रुवेल चौधरी र पूर्वयुवराज पारस शाहसँग लिइएको जानकारीका आधारमा प्रशासनले अर्को पेसीको मिति वैशाख १४ का लागि तोकेको हो ।

घटनाका प्रत्यक्ष साक्षी मानिएका बङ्गलादेशी नागरिक चौधरीले यसअघि नै प्रहरीलाई दिएको गोप्य बयान दोहो¥याएको चितवन प्रशासनले जानकारी दिएको छ ।

बिहानै १० बजे प्रशासन कार्यालय पुगेका रुवेलले दिएको बयानमा “त्यो रात मैले बन्दुक पड्केको सुनेँ तर त्यो बन्दुक पारसले नै चलाएको हो या होइन त्यो भने यकिन गर्न सकिन” उल्लेख गरिएको छ ।
      
बयानका क्रममा रुवेलले टाइगरटप्स् होटलका थप तीनजनाको नाम पनि उल्लेख गरेका छन् । रुवेल कानुनी प्रक्रियामा जान अनिच्छुक रहेको उनका कानुन व्यवसायीहरूले जानकारी दिएका छन् ।

बयानपछि रुवेलले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिइ काठमाडौँ तर्फ लागेका छन् ।

मुद्दाका प्रतिवादी पूर्वयुवराज पारस शाह प्रशासनमा उपस्थित हुँदा उनका समर्थकको उल्लेख्य उपस्थिति थियो । उनीहरूले शाहका पक्षमा नारावाजी गरेका थिए ।

गत मङ्सिर २५ गते चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगरटप्स् होटलमा गोली हानेको आरोपमा मेघौलीका प्रहरी सहायक निरीक्षक गङ्गा क्षेत्रीले शाहमाथि सार्वजनिक ऐनअन्तर्गत मुद्दा दायर गरेका थिए ।

गत मङ्सिर २८ गते पक्राउ परेका शाहलाई रु १० हजार धरौटीमा तारेख लिनेगरी पुस १ गते छाडिएको थियो।

No comments:

Post a Comment