काठमाडौं संवाददाता फागुन ३ काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सातबुँदे सहमति संशोधन गरी नयाँ आधारमा सहमतिको सरकार बनाउनुपर्ने प्रमुख दलका नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब काठमाडौमा आज कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदेको कुनै औचित्य नभएकाले नयाँ आधारमा सहमति गरे आफ्नो पार्टी शान्ति र संविधानको सर्तमा खनाल नेतृत्वकै सरकारमा सहभागी हुन सक्ने बताउनुभयो । ‘माओवादी–एमाले सातबुँदे सहमति गैरसंवैधानिक र अप्रजातान्त्रिक छ,’ कोइरालाले भन्नुभयो, ‘त्यसलाई खारेज गरी नयाँ परिस्थिति सिर्जना भएमा कांग्रेस सरकारमा जान सक्छ ।’ नेतृ कोइरालाले गृह मन्त्रालय माओवादीलाई कुनै पनि हालतमा दिन नहुने बताउनुभयो ।
साक्षात्कारमा माओवादी प्रवक्ता दिनानाथ शर्माले सातबुँदे सहमति कार्यान्वयन नगरे एमालेका लागि प्रत्युत्पादक हुने बताउनुभयो । शान्ति र संविधानका लागि प्रमुख दलबीच सहमति हुन्छ भने नयाँ आधारमा सरकार बनाउन सकिने शर्माको भनाइ थियो । ‘एमालेले लिन जानेको छ, दिन जानेको छैन । २०४७ सालदेखि आजसम्म के दियो ? शर्माले भन्नुभयो,‘एमालेले लोकतन्त्र दिन सक्यो ? शान्ति दिन सक्यो ? संविधान दिन सक्यो ?’ शर्माले विवाद गृह मन्त्रालयको भन्दा पनि सातबुँदे कार्यान्वयनको भएको औंल्याउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठले माओवादीसँगको सातबुँदेलाई पार्टीको स्वामित्वका रुपमा कुनै हालतमा स्वीकार्न नसक्ने जानकारी दिनुभयो । एकै पार्टीका नेता माधव नेपाल र झलनाथ खनालको बीचमा माओवादीले देखेको भिन्नता आश्चर्यको नमुना भएको उहाँको भनाइ थियो । ‘एमालेका एउटा नेता रिमोट कन्ट्रोल, अर्का नेता राष्ट्रवादी कसरी हुन्छ ?’ श्रेष्ठले भन्नुभयो । ‘हामी माओवादीले झलनाथ खनाललाई प्रधानमन्त्री बनाएबाहेक अरु बुँदा स्वीकार्न सक्दैनौं ।’

No comments:
Post a Comment