एस्वी गौतम फागुन १ सिन्धुली । एकिकृत नेकपा माओवादीका कोचिला राज्य इन्चार्ज हरिवोल गजुरेलले अहिले बनेको सरकार भारतको चाहना विपरित बनेका बताउनु भयो । अहिलेको सरकारले दुई तिहाई बहुमत पुर्याउन सफल भएकाले यसले संविधान बनाउने संभावना निकट रहेको पनि उहाँले दावी गर्नु भयो । आज एकिकृत नेकपा माओवादी, जिल्ला संगठन समिति सिन्धुलीले गरेको जनयुद्धको १६ औ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित चियापान समारोहमा बोल्दै गजुरेलले यस्तो बताउनु भएको हो । एकिकृत नेकपा माओवादी पोलिटव्युरो सदस्य समेत रहनु भएका गजुरेलले मन्त्रालय बाँडफाँडमा नभई सहमतिको पालना नगरेका कारण मन्त्रीमण्डल विस्तार हुन नसकेको बताउनु भयो । उहाँले एमाले सँग भएको सहमति एक दुई महिनाको प्रयास नभएर एक दुई वर्षका प्रयास पछि मात्र भएको उल्लेख गर्दै एमालेले सहमति पालना नगरे माओवादी सिधै जनविद्रोहमा जाने चेतावनी दिनु भयो । माओवादीलाई घेरा बन्दी गर्ने काम भए माओवादीले सडक बाट संविधान घोषणा गर्ने पनि उहाँले बताउनु भयो ।
उहाँले माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैध किरण दुवै शान्ति र संविधानको विरोधी भनेर बाहिर आएको कुरा असत्य भएको भन्दै शान्ति प्रक्रियालाई जोखिम ढंगबाट यहाँ सम्म ल्याउने काम प्रचण्डको नेतृत्वमा भएको बताउनु भयो । एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति सिन्धुलीका इन्चार्ज बुद्धि माझीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका दीपक मिश्र, नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राई, नेकपा संयुक्त माक्र्सवादीका केन्द्रिय सदस्य भोजराज सत्याल, नेकपा माक्र्सवादीका बुद्धराम श्रेष्ठ, नेकपा एकिकृतका ढकप्रसाद देवकोटा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति सिन्धुलीका सहइन्चार्ज गणेश बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा माओवादीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, पत्रकार, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment