Saturday, March 5, 2011

दिवंगत पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई राजकीय सम्मान सहित अन्त्यष्टि गरिने

फागुन २१ काठमाडौं। सरकारले दिवंगत पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई राजकीय सम्मान दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईको आइतबार राजकीय सम्मान सहित अन्त्यष्टि गर्ने निर्णय गरेको हो ।

आइतबार दशरथ रगशालामा भट्टराईको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलिका लागि राखिनेछ । उहाँलाई प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय झडा ओढाएर सम्मान गर्नुहुनेछ ।


उहाको पार्थिव शरीर अहिले ललितपुर बाँडेगाउँस्थित उहाको निवासमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर आइतबार बिहान आठ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा, बिहान १० बजेदेखि २ बजेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा राखिनेछ। २ बजेपछि दशरथ रङ्गशालाबाट नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान भट्टराई निवासमा बसेको आकस्मिक बैठकले १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यसअनुसार आजदेखि चैत २ गतेसम्म १३ दिन देशभरका पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाइने छ। भट्टराईको अस्तुलाई १३ औँ दिन ७५ जिल्लामा पुर्‍याइने छ र काठमाडौँ लगायत सबै जिल्लाहरुमा श्रद्धाञ्जलि सभाको आयोजना गरिनेछ।

८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन उहाको निधन भएको हो।

No comments:

Post a Comment