Tuesday, February 15, 2011

आवश्यक प्राविधिक ज्ञानको अभावमा अलैचीखेती ब्यबसायिक बन्न सकेन

कूल तामाङ्  
 फागुन ३ नुवाकोट।जिल्लाको एक दर्जन गाविसका दुई सय जना किसानले गरेको अलैचीखेती आवश्यक प्राविधिक ज्ञानको अभावमा सोचेजति आम्दानी लिन सकेका छैनन् । 

जिल्लाको साल्मे, भाल्चे, काउले, सुन्दरादेवी, समुन्द्रादेवी, सिक्रे, छाप, मदानपुर, ककनी, देउराली, वर्सुन्चेतलगायतका गाविसमा गरिएको अलैचीखेतीबाट वार्षिक चालिस लाख रुपैयाँ आम्दानी हुने गरेपनि व्यावसायिक दक्षताको अभावमा व्यवसायिक रुप लिन नसकेको हो ।

आफूले दुई वर्षअघि ६ रोपनी क्षेत्रफलमा लगाएको अलैचीखेती रोगलागेर नष्ट भएको काउलेका मेघबहादुर तामाङले बताउनुभयो । प्राविधिक ज्ञानको कमीले धेरै जनाले लगाएको खेती नास भएको उहाँले बताउनुभयो ।

रामशाही, गोलशाही, डम्वरशाहीजस्ता विभिन्न जातका अलैची खेती गरिने भएपनि नुवाकोटमा अधिकांश रामशाही जातको खेती भएको छ । अरु जातको विउ अभावले गर्दा एउटै जातमात्र खेती गर्नुपरेको किसानहरु बताउँछन् ।

इडिसी नामक संस्थाले २०५७ सालमा इलामको कुमलटारमा विभिन्न दश जिल्लाका २२ जना कृषकलाई अलैचीखेती सम्वन्धि दिइएको दश दिने तालिममा नुवाकोटबाट सहभागी कालुराम तामाङले त्यही तालिमको  आधारमा खेती सुरु गरेको बताउनुभयो ।

अहिले बजारमा एक हजारदेखि १२ सय रुपैयाँ प्रतिकिलो विक्री हुँदै आएको छ । एक पटक रोपेपछि २५ देखि ५० वर्षसम्म नियमित उत्पादन लिन सक्ने भएकाले अलैचीखेती अरु खेतीको तुलनामा सजिलो र बढि लाभदायी हुने किसान भिमबहादुर तामाङले बताउनुभयो ।

अलैचीको उत्पादन बढ्दै गएपनि त्यसको   ब्यबसायिक   विकासमा खासै पहल गर्न नसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताउनुभयो । उहाँले पकेट क्षेत्र घोषणा गर्न नसक्दा किसानलाई बढी सहयोग गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।

जिल्लामा अलैची खेतीको प्रशस्त सम्भावना भएपनि व्यवसायिक विकासको लागि सरकार र किसानवीच समन्वय हुन नसकेको अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment