Thursday, February 17, 2011

के लेखिन् मैना सुनुवारकी आमा देवी सुनुवारले सेनापतिलाई ?



मैना सुनुवारकी आमा देवी सुनुवारले  सेनापतिलाई लेखेको हृदयबिदारक पत्र:

प्रधानसेनापती
श्री छत्रमान सिंह गुरुङ्गज्यू,
सैनिक मुख्यालय,
भद्रकाली, काठमाण्डौ,
नेपाल ।
महोदय,
म तपाईँलाई कसरी आफ्नो परिचय दिउँ भन्ने दोधारमा छु । हुनत मेरो नाम देवी सुनुवार हो तर पनि सबैले मलाई मैना सुनुवारकी आमा वा मैनाकी आमा भनेर चिन्दछन् । तपाइर्ँले केही सम्झनुभयो कि ? मलाई लाग्छ पक्कै पनि सम्झनुभयो होला ।

हो जनरल साहेब, म त्यही आमा हुँ जसकी पन्ध्रवर्षीया छोरीलाई २०६० साल फाल्गुन ५ गते तत्कालीन शाही नेपाली सेनाका अधिकारीहरूले निर्ममतापूर्वक यातना दिई हत्या गरेका थिए । हो, म त्यही अभागी आमा हुँ जसकी सात कक्षामा अध्ययन गरिरहेकी छोरीको अस्थिपञ्जर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कुनै अँध्यारो कुनामा न्यायको पर्खाइमा बसिरहेको छ ।

हो म त्यही आमा हुँ जसकी छोरीको हत्याको कारण तपाइर्ँको संस्थाअन्तर्गतका आरोपित मध्येका एक अधिकारीलाई चाड गणतन्त्रमा अवस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाबाट बर्खास्त गरी फिर्ता पठाइएको थियो ।

जनरल साहेब, तपाईँ पक्कै पनि आˆनो संस्थाको नाममा धब्बा लगाउने काम गरेको भनी मसँग रिसाउनुभयो होला । तर त्यस्तो कुनै पनि आश्ाय मेरो होइन र कदापि पनि हुनेछैन । सत्य कुरा के हो भने त्यो घटनापछि हाम्रो सम्मानित संस्थाले बेहोर्नु परेको अन्तर्राष्ट्रिय बदनामी देखेर मलाई पनि व्यक्तिगत रुपमा नराम्रो लाग्यो । नेपाली सेना भनेको मेरो सेना हो, हाम्रो सेना हो र हामी सबै नेपालीको सेना हो । बहादुरी र देशभक्तिको गौरवान्वित इतिहास बोकेको मेरो सेनाप्रति देशका प्रत्येक नागरिकजस्तै म पनि गर्व गर्दछु । शान्ति सेनाको घटनाले मलाई दुःख पुर्‍याएपनि एउटा जाबो हत्यारालाई संरक्षण दिन यस्तो आदरणीय संस्थाले कसरी आˆनो गौरवलाई दाउमा राख्न सक्यो भन्ने कुरा सोच्दा मलाई दिक्क लागेर आउँछ ।

शायद तपाइँलाई मेरो व्यक्तिगत व्यथाको बारेमा पक्कै पनि थाहा छैन होला – जुन कल्पना गर्न पनि नसकिने दुःख र व्यथाको कथा छ । विगत ७ बर्षमा मैले भोगेका सास्तीहरूलाई सम्झँदा म धुरुधुरु रुन्छु र ती सबै घटनाहरु मेरै आँखाअगाडि फेरि घटित भएको पाउँछु ।

कल्पना मात्र गर्नुहोस् त आफ्नी प्यारी छोरीलाई सैनिकहरूले लगे भनेको सुन्नुपर्ने र खोजी गर्न जाँदा लगेको हैन भन्दा कस्तो पीडा हुन्छ . . . आफ्नी छोरीको अवस्था के छ भनेर थाहा नभई बाँच्नुपर्दा के हविगत हुन्छ ?. . . र त्यसपछि आफ्नो घर, गाउँ र सपनाहरू छाडेर छोरीको अवस्था पत्ता लगाइदिनुस् न भन्दै एउटा संस्थादेखि अर्को संस्थामा भौंतारिदै याचना गर्नुपर्ने . . . र त्यसपछि सैनिकहरूले निमर्मतापूर्वक शरीरमा करेन्ट लगाएर मारे भन्दा कति पीडा हुन्छ . . .त्यसपछि १ लाख ५० हजार क्षतिपूर्ति दिने भनिन्छ र हत्याराहरूलाई केही नगरी छाडिन्छ . . .त्यसपछि छोरीको शव खोजी गरिदिनुस् भन्दै संस्थाहरुलाई गुर्हानुपर्ने . . .त्यसपछि आˆनी छोरीको अस्थिपञ्जर खनेर निकालेको दृश्य देख्नुपर्ने . . .विचलित हुँदै त्यसपछि न्यायका लागि उजुरी गर्नुपर्ने . . . त्यसपछि मुद्दा फिर्ता गरे घर र पैसासमेत दिन्छौं भन्ने . . . मुद्दा फिर्ता लिन नमानेपछि ज्यानै लिन्छु भन्ने धम्की दिने . . . त्यसपछि आफ्नो छोरीको हत्यामा संलग्न रहेको भनिएकाहरूलाई प्रमोसन दिई पैसा कमाउन विदेशी मिसनमा पठाउने . . . प्रधानमन्त्रीको आश्वासनको बाबजुद अपराधीलाई अदालतमा नबुझाई सेनाकै संरक्षण राख्ने . . . गृहमन्त्री र रक्षामन्त्रीसमक्ष न्यायको याचना गर्नुपर्ने तर केही पनि नहुने ।

यो मेरो कथा हो जनरल साहेब । विगत सात वर्षमा मेरो निरन्तर प्रयासका बाबजुद न्यायलाई प्रत्येक पाइलामा विफल पार्ने प्रयास गरिएको छ । विकसित घटनाक्रमहरूलाई हेर्दा नेपाली सेनाले आश्चर्यपूर्ण ढङ्गमा मुद्दा अगाडि बढाउन नदिएको कुरा प्रस्ट देखिन्छ ।

जनरल साहेब, निज अभियुक्त र मैले सुनेजस्तै विदेशमा आनन्द र वैभवको जीवन बिताइरहेका अन्य अभियुक्तहरूको खोजी गरी प्रहरीकहाँ बुझाउन नेपाली सेनालाई के कस्तो अप्ठेरो आइलाग्यो ? मैले बुझ्नै सकेको छैन ।

न्याय प्राप्तिको क्रममा मैले खर्चेको समयले मलाई धेरै पाठ सिकाएको छ । यी वर्षहरुमा मैले धेरै कुरा देखँे, सुनँे, बुझँे र अनुभव गरेँ । सबैभन्दा महत्वपूर्ण कुरा मैले द्वन्द्वकालमा घटेका मानवअधिकार हननको स्थितिको बारेमा बुझ्ने मौका पाएँ ।

मैले त्यस्ता मानिसलाई भेटेको छु जसले आफ्ना परिवारजन गुमाएका छन्, बेपत्ता पारिएका नागरिकका परिवार जो अझै पनि आˆना पि्रयजन घर फर्किने कुरामा आशावादी छन् र अन्य पीडित देशवासी जो यातनाका शिकार बने र शारीरिक तथा मानसिक रूपमा अशक्त बनी बाँचिरहेका छन् । यी व्यक्तिहरूलाई भेटेपछि र उनीहरूको व्यथा सुनेपछि मेरो मनमा एक अमिट छाप परेको छ । चारैतिर व्याप्त दण्डहीनता र राज्यको चरम उदासीनताले गर्दा यी व्यक्ति निराश, हतोत्साहित र असहाय बनेका छन् ।

जब म कहिलेकाहीँ थकित बन्छु र निरर्थक जस्तो लाग्ने मेरो न्यायप्राप्तिको यात्रा बिसाउँ कि भन्ने जस्तो लाग्छ त्यतिबेला म सेतो सारी लगाएका दिदीबहिनी, कमजोर आँखाले आफ्ना छोराको प्रतीक्षा गरिरहेका बुढी आमाहरू, अनाथहरूको निर्दोष मुस्कान र मानवअधिकार हननबाट पीडित भएकाहरूको आँखामा छचल्किएको आँसुलाई सम्झन्छु र अगाडि बढ्न आफूभित्र शक्ति सञ्चारित भएको पाउँछु ।
मेरी छोरीको मुद्दा प्रतिनिधिमूलक मुद्दा हो भनेर मैले अहिले आएर बुझेकी छु ।

त्यसकारण मेरी छोरीको मुद्दामा पीडकहरूलाई कारवाही भयो भने नेपालमा दण्डहीनताको अन्त्य गर्ने कार्यको थालनी हुनेछ भन्ने कुरामा म धेरै आशावादी छु । यो चमत्कार हुनको लागि नेपाली सेनाको प्रमुख भूमिका रहन्छ । त्यसकारण, तपाईँले यस महान कार्यको शुरुवात मेेरी प्यारी छोरीलाई केवल हाडहरूको थुप्रोमा परिणत गर्ने ती हत्याराहरूलाई प्रहरीसमक्ष बुझाई नागरिक अदालतमा उनीहरूको अभियोजन गर्ने कार्यको सुनिश्चितता गरी गर्न सक्नुहुन्छ ।

जनरल साहेब,नेपालको सर्वोच्च अदालतले २०६३ सालमा नै नै सैनिक अदालतको फैसलाको पुनरवलोकन गरी यस्तो मुद्दा नागरिक अदालतले छिनोफानो गर्नुपर्ने भन्ने ठहर गर्दै यस मुद्दाको कारवाही र किनारा गर्न काभ्रे जिल्ला अदालतलाई निर्देशित गरिसकेको छ ।

नेपाली सेनाले यो फैसलालाई मानेको पनि छैन र अदालतमा औपचारिक चुनौती पनि दिएको छैन । यसर्थ तपाईँको आदरणीय संस्थाले दण्डहीनतालाई बढावा दिँदै कानूनी शासनको अवधारणालाई ठाडै लत्याउने काम गरेको छ ।

जनरल साहेब, मलाई आशा छ कि न्यायको लागि मेरी छोरीको अस्थिपञ्जरले गरेका क्रन्दन तपाइँले सुन्नुहुनेछ र देशमा व्याप्त दण्डहीनताबाट मलगायत सारा नेपालीलाई रक्षा गर्न मैले गरेको याचनालाई गम्भीरतापूर्वक लिनुहुनेछ । तपाइर्ँले चालेको एकमात्र कदम नै नेपालमा दण्डहीनताको अन्त्यको लागि ठूलो फड्को हुनेछ भन्ने कुरामा म विश्वस्त छु । म नेपाली सेनाको प्रमुखले म जस्ता पीडितको अधिकारको पक्षमा उभिएको देख्न चाहन्छु न कि हत्याराहरुको संरक्षणको पक्षमा ।
धन्यवाद !
देवी सुनुवार
फागुन ५, २०६७

७ बर्षअघि आजकै दिन नेपाली सेनाले नियन्त्रणमा लिई मैना सुनुवारलाई हत्या गरेको थियो ।

No comments:

Post a Comment