कूल तामाङ्
फागुन २१धादिङ । धादिङको दक्षिणी धार्केमा सञ्चालित बाली उपचार शिविरमा किसानहरुले विभिन्न बाली उपचार गराएका छन् ।
सेकार्ड नेपाल र कृषि रेडियोको आयोजनामा भएको सो शिविरमा किसानहरुले फर्सी, काँक्रो, लिची, काउली, बन्दालगायत बाली शिविरमा ल्याएर उपचार गराएका हुन् ।
बारीमा अत्याधिक मात्रामा रासायनिक मल र विषादीको प्रयोग गरेका कारणले बालीमा रोग लागेर अहिले विषादी र रासायनिक मल जति हाले पनि उपचार नहुने अवस्था आएकाले जैविक विषादी, गोठेमल र सिँचाइको प्रयोग गर्न बाली उपचारमा संलग्न चिकित्सकहरुले किसानहरुलाई सल्लाह दिएको आयोजक भरत रेग्मीले जानकारी दिनुभयो ।
शिविरमा भुमेस्थान, गोगनपानी, केवलपुर, थाक्रे, नौविसे, जीवनपुर गाविसका किसानहरुले सेवा लिएका थिए ।
कृषि विशेषज्ञहरुले बालीमा लागेको रोगको उपचार गर्न रासायनिक विषादीको सट्टा गहुँत, तितेपाती, बकाइनो, साबुनको गाज आदि प्रयोग गर्न सुझाव दिँदै बाली बचाउन माटोको सुरक्षा र संरक्षण गर्नुपर्ने बताएका छन् ।
यसैगरी, धार्केमा माटो परीक्षण शिविर पनि सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजना र क्षेत्रीय माटो प्रयोगशाला हेटौँडाको सहयोगमा भएको माटो परीक्षण शिविरमा भुमेस्थान, गोगनपानी, केवलपुर, थाक्रे, नौविसे, जीवनपुरलगायत गाविसका ४२ जनाले माटो परीक्षण र उपचार गराएका थिए ।
सो शिविरमा सहभागी किसानहरुलाई माटोमा अम्लीयपन बढेको, अत्यधिक विषादी र रासायनिक मलको प्रयोग बढेकाले गोठेमल र जैविक विषादीको प्रयोग गर्न सुझाव दिइएको छ ।
No comments:
Post a Comment