Monday, March 14, 2011

उखुको खेती बर्सेनी घट्दै

कूल  तामाङ्
  फागुन ३० नुवाकोट ।  तराईका किसानहरु उखुको उचित मलको लागी संघर्ष गरिरहेका छन् । तर राम्रो बजार र मुल्य पाए पनि नुवाकोटका किसानहरु भने उखु खेतीबाट पलायन हुदै गएका छन् ।

रसिलो उखुबाट कसिलो आम्दानी हुने भए पनि अरु बालीको तुलनामा बढी दुःख गर्न परेकोले किसानहरुको उखु आकर्षण घट्दै गएको हो । अरु बालीको तुलनामा झन्झटिलो र लामो समय कुर्न पर्ने भएकोले किसानहरु उखु खेती छाडेर अन्य खेतीतर्फ आकर्षित भएको चतुरालेका शिक्षक राजाराम बोगटीले बताउनुभयो ।

नुवाकोटको चतुराले, सुर्यमति, मदानपुर, थानसिंङ गाविसको केही क्षेत्रमा उखु खेती हुदै आएको छ । यस क्षेत्रमा बर्सेनी उखुको खेती घट्दै गएको किसानहरुले बताएका छन् । चतुरालेमा एक सय जना भन्दा बढी किसानहरु उखु खेतीमा संलग्न रहेकोमा अहिले आधा घटेर ५० जनामा आएको ५० बर्षदेखि उखु खेती गर्दै आएका चुतराले भाङबारीका किसान राजबहादुर बोगटीले बताउनुभयो । उखु खेती जेनतेन धानिरहेका किसानहरुले पनि आफ्नो खेती गर्ने जग्गाको क्षेत्रफल पनि घटाउदै लगेका छन् ।  

अचेलका युवाहरु सजिलो काम खोज्दै शहर तिर गए पछि गाउ नफर्किदा खेती गर्ने जनशक्तिको अभाव हुदै गएको छ  ।    उखुबाट गाउघर मै बनाइने खुदो र सख्खरले बजार भने राम्रै पाएको छ । गाउघरमा पनि चिनीको प्रयोग बढेको भए पनि उत्पादन नै घटेकोले सख्खर राम्रो मुल्यमा  विक्री भईरहेको किसानहरुले बताए । १ सय रुपैया धार्नीमा सख्खर किसानको घरबाटै धमाधम विक्री हुने गरेको छ ।

उखु शद्ध अर्गानिक भएकोले यसको प्रचार प्रसार गर्न सकेमा सख्खरको बजार राम्रो हुन सक्ने भएकोले परम्परागत खेतीलाई नुवाकोट उद्योग बाणिज्य सघले प्रवद्र्धनको लागी सहयोग गर्ने संघका अध्यक्ष शरण उत्सुक सापकोटाले बताउनुभयो ।

अहिले किसानहरुले यहा खेती गरिरहेको उखुको जात धुर्से हो । किसानहरुले उखुको नया जात पाउन सकेका छैनन् । अहिले उखुमा विभिन्न रोग समेत देखा परेकोले पहिलेको तुलनामा आम्दानीमा कमी हुदै गएको छ ।

उखुको गुबो कुहिने रोग जताजतै देखा परेको छ । पहिलेको तुलनामा उखुको लाक्रा पनि मसिनो हुदै गएको किसानले बताए । जिल्ला कृषि विकास कार्यालयबाट उखु सम्बन्धि कुनै पनि प्राविधिक सल्लाह नपाएको किसानहरुको गुनासो रहेको छ । 

No comments:

Post a Comment