कस्तुप देबकोटा
पर्यटन वर्ष– २०११ लाई सफल बनाउन आन्तरिक पर्यटनको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भए पनि त्यसका लागि आवश्यक तयारी भरपर्दोरूपमा भएको पाइँदैन । प्राकृतिक र सांस्कृतिक दुवैरूपमा अनुपम रहेको नेपालमा नयाँनयाँ गन्तव्यको विकास गरी आन्तरिक र बाह्य दुवै पर्यटनमा नयाँ आयाम थप्न सकिनेतर्फ पर्याप्त ध्यान पुग्न अझै बाँकी नै देखिन्छ । पोखरा, चितवन, लुम्बिनी, काठमाडौँ उपत्यका र उच्च हिमाली भेगलगायतका केही क्षेत्रमा मात्र पर्यटन गतिविधि सीमित राखेर न त कुनै पर्यटन वर्ष आशातीतरूपमा सफल हुन्छ, न पर्यटन उद्योगको माध्यमबाट नेपाली जनताको मुहारमा सम्पन्नताको दिगो खुसियाली ल्याउन सकिन्छ ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक एवम् ऐतिहासिक महत्व आदिले सम्पन्न भए तापनि प्रवद्र्धनको अभावमा अहिलेसम्म ओझेलमै परिरहेका नेपालका दर्जनौँ सम्भावित गन्तव्यस्थलहरूको पहिचान गरी ती स्थलहरू र त्यहाँका जनतालाई मुलुककै पर्यटन व्यवसायको मूलधारमा ल्याउनु अत्यावश्यक छ ।यस्तो प्रवल सम्भावना बोकेका कैयौँ दर्शनीय स्थलहरूमध्ये गोरखाको लिगलिगकोट पनि एक हो भन्ने तथ्यमा त्यहाँ पुगेपछि कुनै द्विविधा रहँदैन ।
गोरखाको पालुङ्टारमा आयोजित एनेकपा (माओवादी)को विस्तारित वैठकको क्रममा लिगलिगकोट पुग्नुभएका सो पार्टीका उपाध्यक्ष डा बाबुराम भट्टराई दम्पत्ति त्यहाँको सौन्दर्य र ऐतिहासिक महत्व देखेर अत्यन्तै उत्साहित हुनुभयो ।
गोरखा नै जन्मथलो भए पनि डा भट्टराई पहिलोपटक नै पुग्नुभएको थियो लिगलिगकोट दरबारमा । राजतन्त्र ढली गणतन्त्र आएको साढेदुई वर्षपछि नेपालमा शाहवंशीय राज्यव्यवस्थाको उदयविन्दु मानिने लिगलिगकोटमा पुग्दा उहाँ निकै आनन्दितमात्र हुनुभएन भावुकसमेत बन्नुभयो । र, मनमा उठेको उद्वेगलाई थाम्न नसकी स्थानीय जनताका माझ भन्नुभयो– ‘यसको संरक्षण र विकास छिट्टै गरौँ, तपार्इंहरू तलबाट लाग्नोस् म माथिबाट लाग्छु ।’ पहिलोपटक नै त्यहाँ पुग्नुभएकी नेत्री हिसिला यमी पनि रोमाञ्चित हुँदै दम्पत्तिसहित र स्थानीय महिलासँग विभिन्न कोणबाट फोटो खिच्न व्यस्त हुनुभयो ।
त्यसो त भट्टराई दम्पत्तिमात्र होइन, लिगलिगकोट पुग्ने जो–कोही पनि मोहित नभइरहन सक्दैन, यहाँबाट मनास्लु हिमशिखरको मनोरम दृष्यलगायत चारैतिरको दृश्यावलोकन गर्न पाएपछि । त्यहाँ पुग्ने धेरैजसो व्यक्ति र स्थानीय जनता यो कोटलाई पाल्पाको रमणीय श्रीनगरसँग तुलना गर्न मन पराउँछन् । एमाओवादी राज्य समिति सदस्य एवम् आँपपिपल गाविस स्थायी घर भएका फणिन्द्र देवकोटा भन्नुहुन्छ– ‘लिगलिगकोटलाई चारैतिरबाट संरक्षण गरी पूर्वाधारको विकास गरेमा गज्जवको पर्यटकीयस्थल बन्न सक्छ ।’
‘लिगलिग’ नामको कथा
‘लिगलिग’ मगरभाषाको ‘लिङलिङ’ शब्दबाट आएको भन्ने भनाइ छ । मगरभाषामा लिङलिङ भन्नाले स्निग्ध, सफा, कञ्चन, छ्याङ्ग प्राकृतिक दृश्य देखिनु भन्ने बुझिन्छ । लिगलिगमा लामो समयसम्म घलेमगरहरूको शासन रहेकाले र यस दरबारबाट हेर्दा अहिले पनि चारै क्षीतिजका प्राकृतिक छटाहरू खुला, स्पष्ट र छ्याङ्ग देखिने भएकाले लिङलिङबाट नै लिगलिग रहन गएको तर्क गर्र्ने ठाउँ छ ।
इतिहासमा उल्लेख भएअनुसार लिगलिग तथा गोरखा पहिले मगर राज्यभित्र रहेको थियो । यो राज्यमा बढी चलनचल्तीमा मगरभाषा थियो । खस राजाहरूले गोरखा राज्य कब्जा गरेपछि मगरभाषाको सट्टा खसभाषा चलनचल्तीमा आउन थाल्यो । मगर राज्य हुँदा विभिन्न ठाउँको नाम सोही भाषामा राखिएको थियो । यस्ता तथ्यहरू अहिले पनि भेटिन्छन् । जस्तैः गोरखा जिल्लामा रहेको ‘मीरकोट’ गाविस यस्तै एउटा जिउँदो प्रमाण हो । यहाँ ‘मीर’ भन्ने मगरजातिले राज्य गरेकाले यसको नाम ‘मीरकोट’ रहेको ऐतिहासिक भनाइ छ । मीरकोटमा रहेको लकाङ्कोटमा अहिले पनि तत्कालीन राज्यका गढीहरू रहेकाले यस भनाइमा सहमत हुन सकिन्छ ।
यस्तै लिगलिगकोटका वृद्ध एवम् गोरखाका पूर्वजिविस सभापति गेहेन्द्र रानामगर ‘लिगलिग’ शब्द ‘लिखलिख’ बाट अपभ्रम्स भई बनेको बताउनुहुन्छ । उहाँका अनुसार ‘लिखलिख’को अर्थ सीमाना हो । उहाँ भन्नुहुन्छ– ‘त्यतिबेला लिगलिगलाई ‘सातसय लिगलिग’ पनि भन्ने गरिन्थ्यो रे । किनकि यसभित्र आँपपिपल, खोप्लाङ, हर्मी, पालुङ्टार र छोप्राक गरी पाँच गाउँका सातसय घरधुरीलाई समेटेर प्रशासनिक इकाइ बनाइएको थियो ।
इतिहासमा लिगलिगकोट
समुद्री सतहदेखि चार हजार ७९० फिट उचाइमा रही आँपपिपल गाविस–४, खोल्लीमा पर्ने लिगलिगकोटबारे अनेक ऐतिहासिक कथनहरू रहेका छन् । यहाँ दौडेर प्रथम हुने व्यक्तिलाई राजा छान्ने परम्परा विसं १६०४ को विजयादशमीको दिनदेखि सुरु भएको इतिहासमा पढ्न पाइन्छ । यसरी राजा छान्ने प्रथालाई ‘लिगलिगे दौड’ को सङ्ज्ञा दिइन्थ्यो । कतिपय प्रसङ्गमा अहिले पनि यो दौडको चर्चा गरिन्छ ।
राजा छान्न पहिलोपटक भएको लिगलिगे दौडमा १९÷२० वर्षका ठिटा दलसुर घलेमगर पहिला भई लिगलिगकोटको पहिलो राजा बनेको र उनले विसं १६०४ देखि १६१५ सम्म त्यहाँको राज्य गरेको आफूले सुनेको आँपपिपल गाविस राउटेपानीका पूर्वशिक्षक कृष्णविलास देवकोटा बताउनुहुन्छ ।
तर कतिपय स्थानीय व्यक्तिको जिज्ञासा छ– ‘प्रत्येक वर्ष दौडेर राजा छान्ने परम्परा भए पनि दलसुरमात्रै कसरी प्रथम भएर ११ वर्षसम्म राज्य गर्न सके ?’
लिगलिगे दौड प्रतियोगिता हुने स्थानबारे पनि फरक–फरक किम्वदन्ती रहेका छन् । इतिहासकार दिनेशराज पन्तद्वारा लिखित ‘गोरखाको इतिहास’ भाग–१ पुस्तकमा गोरखाको चोरकाटेदेखि लिगलिगकोटसम्म दौडेर पहिला हुने व्यक्ति एकवर्षका लागि राजा हुने गरेको उल्लेख छ । लेखक एवम् इतिहासकार नरु थापाद्वारा लिखित ‘दृष्टि’ नामक ऐतिहासिक उपन्यासमा चोरकाटेको शिवालय मन्दिरदेखि लिगलिगसम्म दौडेर जित्ने व्यक्तिलाई नै राजा छान्ने चलन रहेको पढ्न पाइन्छ ।
तर नाटककार भीमनिधि तिवारीको ‘शिलान्यास’ नाटकमा भने राजा बन्न दौडने स्थान चेपे नदी र मस्र्याङ्दीको दोभान चेपेघाटलाई मानिएको छ । सो उपन्यासमा पनि लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले दौड जितेपछि लिगलिगकोटको राजा भएको उल्लेख छ ।
‘सीमारेखा’ चलचित्रमा पनि चेपेघाटबाट दौडने परम्परा रहेको सन्दर्भ जोडिएको छ भने स्थानीय जनता पनि लिगलिगे दौड चेपेघाटबाट नै गर्ने प्रचलन रहेका आधारहरू प्रस्तुत गर्दछन् । उनीहरूका अनुसार लिगलिगकोट रहेको गाविस आँपपिपलमा अहिले पनि ऐतिहासिक स्थानहरू रहेका छन् । यस्ता ऐतिहासिक स्थानमध्ये एक हो आँपपिपल गाविस–३ बोहोरा गाउँमा रहेको ‘सभा–चौतारो’ ।
यस्तै यसै क्षेत्रमा राजा र शासनका कुरा जनतालाई सुनाउन ‘कटुवाल–चौतारो’, दसैँमा पालुङ्टारबाट ल्याई फूलपाती भित्र्याउने ‘फूलपाती–डाँडा’, ‘फूलपाती पर्सने मैदान’, पाँचजना घले काटिएको ‘पाँचचिहान’, प्राचीन ‘लिगलिगकोट गुठी’ आदिजस्ता ऐतिहासिक स्थानहरू रहेका छन् । यस आधारमा राजा छान्ने दौड चेपेघाटतिरबाटै भएको हुनुपर्छ भन्ने स्थानीय जनताको तर्क छ ।
सो दौड चेपेघाटबाट सुरु भई ठाँटीपोखरी, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, नाइबारी, मैवल, घलेबारी, दर्खेपानी, राईगाउँ, बिजुलेडाँडा, तिलिङ्गो चौतारो, खोत्ली चौतारो, खाल्टेपानी, कालिका मन्दिर हुँदै लिगलिगकोट दरबारमा आएर सम्पन्न हुने गर्दथ्यो ।
लिगलिगे दौड र द्रव्य शाह राजा बनेको सन्दर्भमा अनुसन्धानमूलक सामग्री गोरखा मिलन समाज पोखराद्वारा २०५७ सालमा प्रकाशित ‘गोरखा दर्पण’, वर्ष १, अङ्क १, इतिहासकार पन्तद्वारा लिखित लगायत अन्य इतिहास पुस्तकमा पाइन्छ ।
वर्तमानमा लिगलिगकोट
नेपाल पर्यटन वर्ष–२०११ भर्खरैमात्र सुरु भएको छ । तर लिगलिगकोटवासीलाई यो वर्ष ‘बेल पाक्यो कौवालाई हर्ष न विस्मात’ जस्तो मात्र भइरहेको छ । न त यहाँका जनताले पर्यटन वर्षबारे बुझ्न पाएका छन्, न त यहाँ कुनै पर्यटकलाई देख्न नै पाएका छन् । पर्यटन वर्षकै बेला पनि यहाँ श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, बुझ्न नसकिने केही शिलालेखहरू र बस्ने एउटा पाटी रहेको छ । तर यी लथालिङ्ग र भताभुङ्ग अवस्थामा छन् ।
लिगलिगकोटको स्थिति दयनीय छ । यहाँ सरकारको ध्यान पुग्न सकेको देखिँदैन । तर पर्यटन वर्षलाई ध्यानमा राखी स्थानीय जनताले यस क्षेत्रलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरेको हर्मीका पत्रकार सुमन पण्डित बताउनुहुन्छ ।
यस्तै ‘लिगलिगकोट विकास अभियान’ नामक संस्था खोलेर स्थानीयस्तरमा इतिहासको धरोहर बचाउने प्रयास गरिएको रानामगर जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘इतिहासको स्मरण र पर्यटन वर्षलाई ख्याल गरेर यसैवर्षको दसैँमा चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म ‘लिगलिगे दौड प्रतियोगिता’ भएको थियो । दस किलोमिटरको उक्त दूरी एक घन्टा एक मिनेट १४ सेकेन्डमा पूरा गरी नेपाल प्रहरी महेन्द्र क्लबका २२ वर्षीय भूमिराज राई पहिलो हुनुभएको थियो ।
पहिलेजस्तो हिजोआज गाह्रो छैन लिगलिगकोट पुग्न । किनकि त्यहाँ जाने विभिन्न बाटा छन् । तनहुँ जिल्लाको डुम्रे–बेसीसहरतिरबाट गोरखाकै पालुङ्टार हुँदै गए पनि हुन्छ या गोरखा सदरमुकामतिरबाट छेपेटार–खोप्लाङ–लुइँटेल– बरडाँडा (हाल बडडाँडा) हुँदै गए पनि हुन्छ । जताबाट गए पनि आँपपिपल–४ बिजुलीडाँडा करिब आधाघन्टा हिँडेपछि दरबारमै पुगिन्छ ।
ऐतिहासिक दरबार लिगलिगकोट नेपालको नयाँ पर्यटकीय गन्तव्यस्थल बन्नेमा कसैको फरकमत रहन सक्दैन । केन्द्रका नेतादेखि स्थानीय जनतासम्मको एउटै भनाइ छ– ‘छिट्टै यसको विकास र संरक्षण गर्नैपर्छ ।’ यो भनाइले मूर्त रूप कहिलेसम्म लेला ? सबैलाई यसको प्रतीक्षा छ ।

No comments:
Post a Comment