Monday, February 28, 2011

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने: दिनानाथ शर्मा

कूल तामाङ्
फागुन १६ नुवाकोट। एकिकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सातबुदे सम्झौतामा एमालेले धोका दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ । एमालेले सम्झौता विपरित गृह र रक्षा मन्त्रालय नदिए पनि तत्कल माओवादीले समर्थन फिर्ता लिएर सरकार गिराउने खेल नखेल्ने प्रवक्ता शर्माले बताउनभुयो ।

 सोमबार रसुवा जिल्लाको भोर्ले गाविसस्थित सेतीदेवी उच्च माविको २५ औं बार्षिकोत्सव तथा रजत जयन्तीको उद्घाटन गर्दै प्रवक्ता शर्माले एमालेको नेताहरुले गर्दा सरकार विस्तारमा समस्या सिर्जना भएको बताउनुभयो ।

उहाले आउदो जेठ १४ भित्र संविधान नबन्ने संभावना बलियो हुदै गएको पनि बताउनुभयो । माओवादी प्रवक्ता दिनानाथ शर्माले जेठ १४ भित्र जनताको चाहना अनुसारको संविधान नबनेमा माओवादी फेरि विद्रोहमा जाने दाबी गर्नुभयो

जनताको सपना साकार पार्ने क्रममा माओवादीलाई घेराबन्दीमा पारेर कुनै पनि काम गर्न नदिने प्रवृति बढेको प्रवक्ता शर्माको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा माओवादी रसुवा इन्चार्ज इन्द्र गौतम, सभासद प्रेम तामाङ, नेपाली कांग्रेसका महासमिति सदस्य उपेन्द्र लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयलाई उच्च मावि बनाउन सहयोग गर्ने ११ जनालाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु दामोदर खतिवडा, गोपाल नेपाल, उत्तम कोदे, निरज नेपाल र विद्यार्थीहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरी मनोरन्जन दिएका थिए ।


No comments:

Post a Comment