Tuesday, March 8, 2011

म्याग्दीको ताकममा च्याउ खेती

सन्तोष गौतम
 फागुन २४ म्याग्दी   । म्याग्दीको ताकमका कृषकहरूले च्याउ खेती सुरु गरेका छन् । कृषि सेवा केन्द्र ताकमको प्राबिधिक सहयोगमा पहिलोपटक च्याउ खेती गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय, म्याग्दीले कृषकलाई च्याउका बिरुवा उपलब्ध गराएको छ । पहिलो चरणमा निशूल्क रूपमा ४० सेट केन्य च्याउ बितरण गरिएको केन्द्रका प्रमुख केशबराज बरालले बताउनुभयो । ताकम कृषि सेवा केन्द्रले कृषकलाई हालै च्याउ खेती सम्बन्धि तालीम दिएको थियो ।

४० जना कृषकलाई एक÷एक सेट च्याउको बिउ वितरण गरिएको बरालले बताउनुभएको छ । ‘च्याउ खेती गर्न कृषक निकै आकर्षित भएका छन्, धेरै माग आएको भएपनि पहिलोपटक भएकाले निश्चीत मात्रामा वितरण गरेका हौ’ बरालले भन्नुभयो ‘अहिले गरिएको च्याउ खेती सफल भए बिस्तार गर्ने योजना छ ।’

सेवा केन्द्र प्रमुख बरालका अनुसार आगामी बैशाख २१ देखि २५ सम्म ताकममा हुने धौलागिरी पर्यटन महोत्सवलाई लक्षित गरेर च्याउ खेती सुरु गरिएको हो । पर्यटन महोत्सवमा गाउँमा आउने निम्तालुलाई च्याउ चखाउने योजना रहेको स्थानीय कृषकहरूले बताएका छन् ।

खेती गरेको १८ देखि २२ दिनमा उम्रने केन्य च्याउ ४५ दिनपछि उपभोग गर्न योग्य हुन्छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रमा केही समय यता च्याउ खेती गर्दै आएका कृषकहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।

No comments:

Post a Comment