राजेन्द्र न्यौपाने चैत ८ खलङ्गा (बैतडी)।
बैतडी सिद्धेश्वरका बासिन्दाले होली खेलेर सङ्कलन गरेको रकम ग्रामीण सडक निर्माणका लागि खर्चं गरिने भएका छन् । सडक निर्माणको लक्ष्य लिएर खेलिएको होलीबाट रु एक लाख ६१ हजार सङ्कलन भएको र उक्त रकम स्थानीय ‘हरिचन–रौलेश्वर ग्रामीण तथा कृषि सडक’मा खर्च गरिने सो सडक निर्माण समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो । दशरथचन्द राजमार्गको खोडपे नजिक सिद्धेश्वर–७, हरिचन मोडबाट सुरु भई रोलेश्वर जोड्ने १२ किमी लामो उक्त सडकका लागि यही चैत २ देखि ५ गतेसम्म खेलिएको होलीबाट उक्त रकम सङ्कलन भएको समितिका सचिव कृष्णसिंह भाटले बताउनुभयो । होली खेल्ने क्रममा सिद्धेश्वर–२, का राजेन्द्र भट्टले सबैभन्दा बढी रु १२ हजार १०५ सहयोग गरेका उहाँले बताउनुभयो । सिद्धेश्वरका स्थानीय बासिन्दाको आफ्नै पहलमा दुई महिना अगाडिबाट निर्माण सुरु गरिएको सडकका लागि होलीबाट रकम जुटेपछि सडक खन्ने काम सुरु गरिएको सडक निर्माण आर्थिक समितिका अध्यक्ष इन्द्र बोहाराले बताउनुभयो । उक्त सडकमा स्थानीय बासिन्दाले चन्दा र ऋण सहयोगस्वरूप रु १६ लाख र सिद्धेश्वर गाविसबाट रु एक लाख २७ हजार सहयोग गरिएको र उक्त रकमबाट हालसम्म साढे चार किमी सडक निर्माण कार्य पूरा भएको छ । उक्त सडकबाट सिद्धेश्वर–२, ४, ५, ६ र ७ नम्बर वडाका पाँच वटा गाउँ र रोलेश्वर गाविसलाई सडकसँग जोड्ने बताइएको छ ।
No comments:
Post a Comment