Tuesday, March 8, 2011

लोडसेडीङ र चर्को ब्याजदरले औद्योगीक क्षेत्र धरासायी बन्यो–जोशी

सन्तोष गौतम
  फागुन २४ म्याग्दी। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालमा उद्योग व्यवसाय गर्ने वातावरण नभएको बताउनुभएको छ ।

मंगलबार बेनीमा म्याग्दी उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष जोशीले लोडसेडीङ र चर्को ब्याजदरले उद्योग व्यवसाय गर्न सक्ने अवस्था नरहेको बताउनुभएको हो ।

‘दैनिक १६ घण्टे लोडसेडीङ र चर्को बैङ्क ब्याजदरका कारण लगानी गरेर उद्योग व्यवसाय गर्न सक्ने अवस्था छैन’ जोशीले भन्नुभयो ‘यहि अवस्थामा मजदुरले न्युनतम १० हजार पारिश्रमीक पाउनुपर्ने माग गर्न थालेपछि थप समस्या उत्पन्न भएको छ ।’ उद्योग सञ्चालन गर्न नसक्ने अवस्था भएकाले मजदुरले मागेजती पारीश्रमीक दिन नसकिने उहाँले स्पष्ट पार्नुभएको छ ।

उद्योग व्यवसाय गर्ने वातावरणको अभावमा लगानीकर्ता पलायन हुन थालेकाले देशमा निर्यात घट्ने र आयात बढेर व्यापार असन्तुलनको समस्या सृजना हुन थालेकाले यसतर्फ सजग हुनुपर्ने अध्यक्ष जोशीको भनाई थियो ।

यसैगरी एकाधीकार बजारको अन्त्य गरि पूर्ण प्रतिस्पर्धात्मक बजार व्यवस्था कायम भएमा आर्थिक बिकासमा सहयोग पुग्ने भएकाले एकाधीकारलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

देशमा समयमै नयाँ संबिधान जारी गरेर शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दा सम्म आर्थिक क्षेत्र समस्याबाट मुक्त हुन नसक्ने भएकाले राजनितिक नेतृत्व यसतर्फ जिम्मेवार बन्न सुझाव दिनुभयो ।

कार्यक्रममा महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल र आनन्दराज मुल्मीले आगामी नेतृत्वले महासंघको गरिमा र हैसियत बचाईराख्न कार्यान्वयनकारी आर्थिक एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आगामी अधिवेशनका अध्यक्ष पदका प्रत्यासी आजाद श्रेष्ठ र सुरज बैद्य लगायत अन्य उमेद्वार उपस्थित भएपनि उनीहरूलाई आफ्नो बिचार राख्न नदिएको भन्दै सहभागिले आयोजक प्रति गुनासो गरेका छन् ।

पश्चिमाञ्जल विकास क्षेत्रमा रहेका १६ जिल्लाका १९ उद्योग वाणिज्य संघका प्रतिनिधी सहभागि साधारणसभाले आगामी तीन वर्षका लागि क्षेत्रीय उद्योग वाणिज्य संघको नेतृत्व चयन गर्नेछ ।

मंगलबारनै सम्पन्न हुने साधारणसभामा पश्चिमाञ्चल विकास क्षेत्रका उद्योगी, व्यवसायीका समस्या र सम्भावनाका विषयमा विभिन्न प्रस्तावमाथि छलफल हुने म्याग्दी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।

क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्रकुमार अग्रहरीको सभापतित्व, पोखरा उद्योग वाणिज्य संघका महासचिव संजीबकुमार कोइरालाको सञ्चालन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मर्सानीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment