Monday, April 4, 2011

गोरखाको हंसपुरमा अलैंचीको पाकेट क्षेत्र

राजेन्द्र न्यौपाने 
 चैत २१ गोरखा। गोरखाको हंसपुर अलैंचीको पाकेट क्षेत्रको रुपमा स्थापित भएको छ । नेपालको पूर्वी जिल्लाहरु इलाम, ताप्लेजुङमा हुने अलैंचीलाई गोरखाको हंसपुर गाविसमा पनि व्यावसायिक रुपमा खेती गर्ने कार्य तीब्र गतिमा बढीरहेकोले पाकेट क्षेत्रको रुपमा अघि बढको हो ।  हंसपुरको वडा न.ं १, २, ३, ४ र ५ का अधिकांश किसानहरुले अलैंची खेतीलाई प्रमुख नगदेबालीका रुपमा लगाउँने क्रम बढेको हो । यी वडाका असी प्रतिशत किसानहरुले अलैंची खेतीमा जोड दिन थालेका हुन् । गाविसमा दुईसय परिवारले अलैंची खेतीको शुरुवात गरेका छन् ।
          
पानीको श्रोत प्रशस्त रहेको र ओसिलो जमिन भएकोले हंसपुर अलैंचीको प्रमखु क्षेत्रको रुपमा स्थापित भएको हो । यहाँ उत्तिसको राम्रो जंगल भएकोले अलैंची हुर्कन, बढ्न निकै सहयोग गरेको छ । हंसपुरका किसानहरुले धान फल्ने खेतमा समेत अलैंची लगाउन थालेका छन् । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक नगदे खेतीको व्यावसायिकतामा जोडदिदै अलैंची खेती लगाउन किसानहरु उत्साहित भएको ज्ञानज्योति उच्च माध्यामिक विद्यालयका प्राचार्य परशुराम अधिकारी बताउँछन् । गाविसमा अलैचीको राम्रो खेती  र उत्पादन हुन थालेपछि विभिन्न जिल्लाबाट समेत किसानहरु अवलोकनमा आउन थालेका अधिकारी बताउँछन् ।
          
हंसुपुरमा शुरुमा किसान चिन्तामणि अधिकारीले अलैंची लगाउन शुरु गरेका हुन् । उनले अलैची खेतीलाई आफ्नो टोल, वडाहुदै गाविसभरी र छिमेकको खरीबोट गाविस र लमजुङ जिल्लाका केही गाविसहरुमा समेत फैलाएका हुन् । २०३८ सालमा गाविसका जेटिए पुण्यप्रसाद धितालको सहयोगमा इलामबाट तीनसय  अलैंचीका बेर्ना लगाएर खेतीको शुरुवात गरेको बताउँछन् चिन्तामणि अधिकारी, ७५ । उनी बृद्ध उमेरमा पनि निकै मेहनतका साथ अलैंची खेतीमा लागिरहेका छन् । “शुरुशुरुमा छरछिमेकले निकै विरोध गरें, गाईवस्तु चराउने ठाउँमा अलैंची लगाएको भनेर कराएपनि,” अधिकारी भनें,“मैले आम्दानि लिन थालेपछि सबैले हामीलाई पनि लगाउन सिकाउन पर्यो भन्न थालें ।” ०४१ सालमा पहिलोपटक प्रतिकेजी साठी रुपैयाँमा अलैंची बेचेका अधिकारीले पाहोरसाल करिब ४ लाख रुपैयाँ अलैंची बेचेंर कमाए । उनीनै सबैभन्दा बढी कमाउने किसान हून् ।  उनले ३२ रोपनीमा अलैंची लगाएका छन् ।
          
हिजोआज बजारको समस्या नभएपनि दलालीहरुले किसानलाई  सकेसम्म ठग्ने गरेको अधिकारीले बताए । सकेसम्म कममा लैजाने र बढीमा बेच्ने नियत दलालीमा रहेकोले पोहोर साल गाविसभरिको अलैंची बेच्दा टेण्डरबाट दरभाउ र ठेकेदार चयन गरिएको थियो । यसले गर्दा पोहोर अहिलेसम्मकै बढी भाउ पाइएको किसानहरु बताउँछन् । गतवर्ष उनीहरुले प्रतिकेजी १२ सयमा ठेक्का लगाउन सफल भएका थिए । यसले गर्दा गाविसले १ करोड रुपैयाँको अलैंची निर्यात गर्न सकेको थियो । यो वर्ष झन्ै बढीको व्यापारहुनेमा किसानहरु आशावादी छन् । 

 किसानहरु यसपटक प्रतिकिलो १८ सयमा बेच्न सकिनेमा  आशावादी छन् ।  अलैंचीबाट आर्जन गरेको आम्दानिले किसानहरुले राजधानी र चितवनमा घर घडेरी समेत जोड्न सफल भएका छन् । हंसपुरमा अलैंचीको सुकाउनको लागि परम्परागतको सट्टा आधुनिक प्रविधिका भट्टाहरु भित्रिदै गएको छ । गाविसभर अहिलेरहेका ३५ वटा मध्ये अठारवटा आधुनिक भट्टाहरु रहेका छन् । यस्तो भट्टामा सुकाउँदा एकदिनमानै अलैंची सुक्ने गर्दछ । अलैंचीको उत्पादन भदौदेखि असोजको पहिलो हप्तासम्म हुने गर्दछ ।
           
प्रकृतिले गाविसलाई अलैंचीको लागि बरदान दिएको बताउँछन गाविस सचिव छविलाल पनेरु ।  किसानहरुको अलैंची खेती प्रतिको आकर्षण र उत्साहले गाविसले पनि सक्दो सहयोग गर्ने लक्ष्य राखेको  पनेरु बताउँछन् । गाविस किसानहरुलाई आवश्वयक सहयोग गर्न तयार छ, पनेरुले भनें । यसैगरी खरीबोट गाविसमा पनि अलैंची लगाउने किसानहरु बढीरहेका छन् । यहाँको वडा नंं ७, ८, ९ र १ का पचासि प्रतिशत किसानहरु अलैंचीमा निर्भर छन् ।

 गतवर्ष गाविसभरीमा पाँच लाख रुपैयाँको अलैचीको कारोबार भएको गाविस सचिव सूर्यप्रसाद बरालले बताउनुभयो ।

No comments:

Post a Comment