Sunday, April 1, 2012

पन्ध्र वर्ष नुपुग्दै विवाह गर्छन् बालिकाहरू

सोलुखुम्बूको वाकु वाप्सा, मगर गाउँका अधिकांश वालिकाले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। बालविवाह कानुनद्वारा वर्जित भएको  कुरासँग ती बालिका र उनीहरूका अभिभावक कसैलाई वास्ता छैन। वाप्सा बदबर टोलकी सुष्मा रजानमगर (१४)को वाकु- ९ लाखुका  किशोर हिराकाजी रानामगर(१६)सँग भरखरै विवाह भयो। कानुनी रूपमा दुवैको उमेर नपुगे पनि अभिभावककै सहमतिमा उनीहरूको विवाह  भएको हो। सुष्मा र हीराकाजी अहिले माइती-ससुराली गरिरहेका छन्। 

एक वर्षपहिले वाप्सा बलेफाकी कोपिला खपाङ्गी मगर (१४)ले सोमान मगर (२१) सँग प्रेम विवाह गरिन्। ओठ निचोर्दा दूध आउने बालिका  कोपिलाले विवाह गर्दा उनका अभिभावकले खासै आपत्ति जनाएनन्। आफूलाई मन पराएको भन्दै सोमानले जबरजस्ती गरेपछि बाध्य भएर  विवाह गर्नुपरेको कोपिला बताउँछिन्। विवाहपछि ४ कक्षाको उनको पढाइ त्यसै रोकिएको छ भने उमेर नपुग्दै गृहस्थी जीवन सुरु भएको छ।  विवाहले पढ्ने धोको समाप्त भएको कोपिला बताउँछिन्। 

कोपिला खपाङ्गीकै उमेरमा हिमाली मगर (१४) ले गोपाल मगर (१८) सँग गत वर्ष विवाह गरिन्। हिमाली र गोपाल आफ्नै राजीखुसीले  विवाह गरेको बताउँछन्। विवाहपछि ७ कक्षामा अध्ययनरत दुवैको स्कुल छुटेको छ। अहिले हिमाली गाउँमै घरखेती गर्छिन् भने गोपाल कहिले  गाउँ त कहिले नाम्चे आउने-जाने गर्छन्। 

सुष्मा, कोपिला र हिमालीको मात्र होइन, गाउँका सबैजसो किशोरीको पन्ध्र वर्ष नपुग्दै विवाह हुने गरेको छ। १५ वर्ष नपुग्दै विवाह गर्नेहरूको  लस्करमा जोडिन्छिन् बेबिना मगर (१८), जसले चार वर्षपहिले गाउँकै अमर मगरसँग विवाह गरेर दुईवटा सन्तान जन्माइसकेकी छिन्।  उनीहरू आमाबाबुसँग छुट्टिएर बस्दै आएका छन्। १५ वर्षमा टेक्ने क्रममै विवाह गरेकी सुजता मगर (१९) को छोरो ४ वर्षको भैसकेको छ।  विष्णु मगर (१५) ले गाउँकै शम्भु मगर (१८) सँग डेढ वर्षपहिले विवाह गरिन्। 

करिब १ सय ५० घर मगर परिवार रहेको वाप्सा गाउँमा तुलनात्मक उमेर पुगेर विवाह गर्ने सुविता मगर (१८) र राजु रानामगर (१८) हुन्।  अरूका केटाकेटीले सानैमा विवाह गरे पनि आफूले उमेर पुगेरै छोरीको विवाह गरिदिएको सुविताकी आमा चिनीमाया रजानमगर बताउँछिन्।  ९० प्रतिशत बालिकाको किशोरावस्था पार नभै विवाह हुने स्थानीय गोविन्द थापामगर बताउँछन्। गोविन्द भन्छन्- कानुनले अवैध मानेको  बालविवाह त्यहाँ परम्पराकै रूपमा स्थापित छ। 

पछिल्ला ७ वर्षमा सबैभन्दा धेरै उमेर पुगेर आफूले विवाह गरेको सन्ध्या थापामगर (२१) बताउँछिन्। उनले दुईवर्ष पहिले गाउँकै हीरा मगर  (२१) सँग विवाह गरेकी थिइन्। सन्ध्याका अनुसार पहिलो राजश्वालासमेत नहुँदै वाप्साका धेरै युवतीको विवाह भैसक्छ। २०६१/६२ यता  वाप्साका दुई दर्जनभन्दा बढीको बालविवाह भएको छ। बालविवाहलाई सामाजिक विकृति मानिए पनि आफ्नो गाउँमा सामान्य बन्दै गएको  सन्ध्या बताउँछिन्।

अरूका छोराछोरीले बालविवाह गरे पनि आफ्ना छोराछोरीलाई त्यस्तो गर्न नदिने स्थानीय अजम्बरी सामुदायिक संस्थाकी कोषाध्यक्ष सीता  मगर बताउँछिन्। बालविवाहको चलनले बालिबालिकाको पढाइ चौपट भएको कोषाध्यक्ष मगरको अनुभव छ। अहिलेसम्म वाप्साको बदबर,  बलेफा, खानी र रोयखोला टोलका कुनै मगर बालिकाले एसएलसीसम्म नगरेको सिता बताउँछिन्। अधिकांश केटाहरूले पनि १८-१९ वर्षमा  विवाह गर्ने गरेका छन्। सानो उमेरमा विवाह गर्ने चलनले गाउँ शिक्षामा ज्यादै पिछडिएको स्थानीय बासिन्दा भक्तबहादुर मगर बताउँछन्। 

बालविवाहले शिक्षा आर्जन तथा व्यक्तित्व विकासमा बाधा परेको र परिवार सञ्चालन गर्न गाह्रो भएको सन्ध्या थापा बताउँछिन्। स्थानीय  स्कुलमा कक्षा १० पढ्दापढ्दै विवाह गरेकी सन्ध्या स्वयम् त्यसपछि पढाइ छाड्न बाध्य भइन्। बालविवाह हुनुमा अभिभावकहरू नै दोषी  भएको सन्ध्याको आरोप छ। 'ठूलाहरूले गाउँको विवाह तथा सामूहिक कार्यमा साना केटाकेटीहरूलाई जुटाइदिने, जिस्क्याउने, उकास्ने आदि  काम गर्छन्,' सन्ध्या भन्छिन्- 'यसले बालविवाह गर्न प्रोत्साहित गरेको छ।' केहीले भने साथीभाइको देखासिखीले सानैमा विवाह गरेको बताउँछन्। आफू सानै भए पनि मनमिलेपछि एक्लै बस्न नसकेर विवाह गरेको बेबिना मगर बताउँछिन्।

आर्थिक एवं शैक्षिक रूपमा पछाडि रहेको वाप्सा गाउँमा बालविवाह रोक्न विशेष सचेतनात्मक अभियान खाँचो भएको गैरसरकारी संस्था  पहाडी विकास तथा संरक्षण समूह नेपालको वाकु हेर्न सामाजिक परिचालक पर्विमाया खालिङ राई बताउँछिन्। पहाडी विकासले वाप्सामा  गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ। सामाजिक परिचालक राईका अनुसार कार्यक्रममा समेटिएका परिवारहरूको सामुदायिक  संस्थामार्फत बालविवाह रोक्न अभियान चलाउन पहल भैरहेको छ।
साभारः साप्ताहिक

No comments:

Post a Comment